पटना,असार १० गते बुधबार ।
विहारमा ३७ वर्ष पुलिसको जागिर खाँदा ६४ वटा मुठभेड (इन्काउन्टर) गरेका अवकाश प्राप्त डीएसपी कृष्ण चन्द्राले आत्महत्या गरेका छन् । उनले डिप्रेसनका कारण आत्महत्या गरेको आफ्नो ‘सुसाइड नोट’ मा उल्लेख गरेका छन्।

चन्द्राले लाइसेन्स प्राप्त पेस्तोलले गोली हानी आत्महत्या गरेका थिए । उनी विहारमा इन्काउन्टर विशेषज्ञका रुपमा चर्चित थिए। जागिर अवधिका क्रममा उनलाई दुई पटक गोली लागे पनि बाँच्न सफल भएका थिए।
चन्द्राको साथी अवकाश प्राप्त डीएसपी अन्जनी कुमार सिन्हाले १९९८ मा आफूहरुले सँगै दारोगामा काम गरेको बताए । चन्द्राको जहाँ पोस्टिङ भए पनि अपराधीसँग भिडेको उनी बताउँछन् । उनी गरीबका पक्षमा थिए र गरीबसँगै धर्नामा सामेलसमेत हुन्थे।
उनले छाडेको सुसाइड नोटमा ६६ वर्षीय चन्द्राले आफू १६ वर्षदेखि उपचारमा रहेको उल्लेख गरेका छन् । श्रीमती र तीन छोराछोरीको नाममा लेखेको नोटमा उनले भनेका छन्, “मलाई माफ गर्नू । डिप्रेसनका कारण महीनौँदेखि सुतेको थिइनँ । अब म दु:ख सहनसक्ने अवस्थामा छैन । त्यसैले यो कदम उठाएँ।”
कान्छा छोराको नाममा उनले लेखेका छन्, “तिमीले एसबीआई शाखामा गएर मेरो नामको पेन्सन बन्द गरेर आमाको पेन्सन चालू गर्नु । मेरो नामको मोबाइल पनि चालू राख्नु किनभने ब्यांक, ग्यास, बिजुली र इनकम टेयाक्सको लागि यो जरुरी छ।”
प्रहरीको नाममा पनि उनले सन्देश छाड्दै १६ वर्षदेखि गम्भीर मानसिक समस्याको उपचार गर्दा पनि ठीक नभएको लेखेका छन्। कोलोनीका सन्तोष सिन्हा भन्ने मान्छेका कारण पनि आफ्नो रोग चरममा पुगेको उनले बताएका छन्।
-दैनिक भाष्करबाट
फेसबुकबाट तपाईको प्रतिक्रिया !