काठमाडौं,असार ९ गते मंगलवार ।
जागिर अवधि बिदा कटाउँदा १५ दिनमात्र बाँकी रहेका आइजीपी ठाकुरप्रसाद ज्ञवालीले २०७६ माघ २८ मा नेपाल प्रहरीको महानिरीक्षक नियुक्त भएपछि विभिन्न संचारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा आफ्नै कार्यकालमा निर्मला पन्तको घटना टुंगो लाग्ने बताएका थिए । भीमदत्त नगरपालिका–२, उल्टाखाम निवासी १३ वर्षीया बालिका निर्मला पन्तको २०७५ साउन १० मा बलात्कारपछि हत्या भएको थियो । उक्त हत्याका अभियुक्त अहिलेसम्म पनि पक्राउ परेका छैनन् ।
आइजीपी ज्ञवालीले पद बहाली गर्नासाथ निर्मला पन्तको घटना टुंगिने प्रतिबद्धता जनाएको श्रब्य दृश्य अहिले पनि अर्काइभ खोज्ने हो भने अनगिन्ती भेटिनेछन् । तर उनको कार्यकाल १५ दिन बाँकी हुँदा पनि निर्मला पन्तको घटनाको छेउटुप्पो उनले पत्ता लगाउन सकेनन् । नेपाल प्रहरीको आइजीपीका रुपमा पन्तको घटना टुंगो लाग्ने बताए पनि त्यसमा उनले खासै चासो देखाएनन् । छानबिनलाई प्रभावकारी बनाउन सकेनन् । बरु सर्वेन्द्र खनालले हरेक कोणबाट निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने ब्यक्ति दिलीपी बिष्टलाई नै आशंकामा राखी छानबिनलाई अगाडि बढाई निलम्बनमा परेका निर्दोष प्रहरी अधिकृत अंगुर जीसीलगायतलाई न्याय दिने प्रयत्न गरेका थिए । तर ज्ञवालीले पन्तको बारेमा छानबिन समेत नगरी नगरी बिदा हुन लागेका छन् । पछिल्लो समयमा त उनले आफूले बोलेको कुरा बिर्सिएर निर्मला पन्तको घटनामा चासै दिन छाडेका छन् ।
आइजीपी ज्ञवालीले महानिरीक्षक खनालको कार्यकालमा चर्चामा रहेको निर्मला प्रकरणमा अनुसन्धान गर्ने मौका पनि पाएका थिए । केन्द्रीय अनुसन्धान ब्युरोबाट डीएसपी अंगुर जीसीको नेतृत्वमा भएको अनुसन्धानपछि कंचनपुर पुग्ने पहिला एसएसपी ज्ञवाली नै थिए । यद्यपि उनको अनुसन्धानले त्यतिखेर उनको खासै नयाँ कुरा ल्याउन सकेको थिएन ।
यसैगरी, आइजीपी ज्ञवालीले जाँदाजाँदै डीआइजीको दरबन्दी घटाएकोमा मिडियामा सरकारप्रति असन्तुष्टि पनि प्रकट गरेका छन् । सरकारले ५० हजार भन्दा बढी प्रहरी जनशक्ति प्रदेशमा खटिने भएपछि डीआइजीका दरबन्दी २४ बाट घटाएर १४ मात्र राखेकोमा पनि उनले असन्तुष्टि जनाएका छन् । र, प्रदेशको प्रहरी प्रमुख एआइजी हुनुपर्ने दलिल गरेका छन् । उनले त्यो कुरा प्रहरी संगठनको हितका लागि नभएर आफ्ना भाइलाई डीआइजी बढुवा गर्न नपाएको कुन्ठाका रुपमा ब्यक्त गरेको प्रहरी स्रोत बताउँछ ।
डीआइजीका दरबन्दी कटौती नगरेको भए बरियतामा तल भए पनि ज्ञवालीले भाइ श्याम ज्ञवालीलाई तान्ने खेलमा थिए । तर सरकारले दरबन्दी कटौती गरेपछि भाइ तान्ने उनको चाहना पूरा हुन नसकेकाले घर जानेबेलामा उनले सरकारको नीति विपरीत बोल्न थालेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !