जनकपुर,असार ९ गते मंगलवार ।
जनकपुरधाम उपमहानगरपालिकाको बोर्ड बैठकमा नगर प्रमुख लालकिशोर साहविरुद्ध उत्रिएका वडाध्यक्षहरुलाई नगरपालिका कार्यालयभित्रै थुनिएको हो । असन्तुष्टी जनाउने वडाध्यक्षहरुलाई नगर प्रमुख साहले जुनसुकै अवस्थामा पनि हस्ताक्षर गराएर छाड्ने अडान लिँदै प्रहरीको सहयोगमा कार्यालय भित्रै थुन्न लगाएका हुन् ।
नगरसभा नजिकिँदै गर्दा उपमहानगरको नीति तथा कार्यक्रम तयार पार्नका लागि बोलाइएको बोर्ड बैठकमा नगर प्रमुख साहले सिधै हस्ताक्षर गर्न निर्देशन दिएपछि बहुमत वडाअध्यक्षहरुले प्रतिवाद गरेका थिए । सोही क्रममा केहि वडा अध्यक्षमाथि नगरप्रमुखले प्रहरी लगाएर कुटपिट समेत गरेको बताइएको छ ।
बुधवार जसरी पनि नगरसभा सम्पन्न गर्नुपर्ने भएकोले सोमबार रातिसम्म पनि बहुमत वडाध्यक्ष र बोर्ड सदस्यहरुको हस्ताक्षर सहितको माइन्युट गराउनका लागि उपमहानगर परिसर भित्रै थुनिएको बताइएको छ । वडा अध्यक्षहरुलाई नगरप्रहरीले उपमहानगरपालिकाको गेटमा ताला लगाएर बन्द गरेका छन् । गेटभित्र थुनिएका वडाध्यक्षसहितका प्रतिनिधिहरुले नगर प्रमुखविरुद्ध नाराबाजी गरिरहेका छन् । उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साहले नगर प्रमुखको आदेशमा गेटमा ताला लगाएर आफूहरुलाई बन्धक बनाएको आरोप लगाए ।
‘भित्र कुर्सी फालाफाल भएको छ । तिमीहरुले नमाने पेलेर अघि जाने भन्दै हामीलाई धम्क्याएका छन्’ वडाध्यक्ष दिपेन्द्र साहले भने । नगर प्रमुखले लोकतन्त्रविरुद्ध काम गरेको भन्दै उनले बैठकमा आफूहरुमाथि हातपात भएको समेत बताए । वडाअध्यक्षहरू जानकीराम साह, दिपेन्द्र साह जगदिस महासेठ, सुदर्शन सिंहमाथि नगरप्रमुखले प्रहरी लगाएर कुटेको समेत जानकारी दिए । उपमहानगरपालिकाको बोर्ड बैठकमा नगर प्रमुख साहले एकलौटी निर्णय लाद्न खोजेको भन्दै वडाअध्यक्षहरुले विरोध जनाएपछि विवाद सुरु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !