झापा,असार ८ गते सोमबार ।
लागूऔषध ब्राउन सुगरसहित झापामा ३ जना पक्राउ परेको हो । जिल्लाको कमल गाउँपालिका वडा नम्बर -५ स्थित पाडाजुंगी (गौरीगन्ज) सडकखण्डबाट उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी तथा सूचना अधिकारी राकेश थापाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कमल गाउँपालिका-५ बस्ने २० वर्षीय दीपेश थापा, झापा गाउँपालिका-४ बस्ने २१ वर्षीय सेराज अली र सोही ठाउँका २३ वर्षीय अनन्तप्रसाद गणेश रहेका छन्।
मे ११ प ६५४६ र बा ४४ प ९७८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार बेलुका उनीहरूलाई पक्राउ गरेको डिएसपी थापाले जानकारी दिए ।
पक्राउ परेकाको साथबाट प्रहरीले प्लास्टिकको पोकोमा लुकाइछिपाइ राखिएको २८ ग्राम ९७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । थप अनुसन्धानका तीनैजनालाई लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। उनीहरू कारोबारी वा प्रयोगकर्ता भन्ने पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !