काठमाडौं,असार ७ गते आइतबार ।
जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले पनि नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने प्रस्तावले संविधानको मूल मर्ममाथि प्रहार गरेको बताएका छन्।
संघीय संसद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा नागरिकता विधेयक माथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।
समितिको बैठकमा विदेशी महिलालाई सात वर्षपछि मात्रै नेपाली नागरिकता दिने व्यवस्थाको विरोध गर्दै उनले सरकार उल्टो बाटोमा हिँडिरहेको टिप्पणी गरे।
महतोले संविधानमा पनि समय सीमा निर्धारण नगरिएको विषयमा अहिले बन्देज लगाउनुपर्ने कारण आफूले बुझ्न नसकेको बताए। उनले अहिलेसम्म समय सीमा निर्धारण नगर्नुको कारण रहेको स्पस्ट पार्दै कानुन मात्रै बनाएर नहुने बताउँदै जनताले पनि स्वीकार्नुपर्ने बताए।
उनले तराई-मधेसमा अधिकांश व्यक्तिको विवाह भारतमा हुने बताए। यो सम्बन्ध नेपाल सरकार र भारत सरकारले बनाएको नभएकाले यस्तो व्यवस्थाले त्यस क्षेत्रको सामाजिक, सांस्कृतिक सम्बन्धमा प्रहार गर्ने उनले बताए।
महतोले नागरिकतासरहको आवासीय प्रमाणपत्र दिने भनिए पनि महिलाले बच्चा जन्माएपछि नागरिकता नहुँदा जन्मदर्ता समेत नहुने जिकिर गरेका छन्। अंगीकृत नागरिकता लिन सात वर्ष बन्देज लगाउने प्रस्ताव पारित भए महिलामाथिको स्वाभिमानमा आक्रमण हुने समेत महतोले बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !