दिल्ली,असार ७ गते आइतबार ।
भारतको दिल्लीमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक नेपालीको अन्त्येष्टि गरिएको हो । परिवारका सदस्यहरु नेपालमा भएकाले कोरोनाका कारण ज्यान गुमाएको १३ दिनपछि उनको शनिबार दिल्लीमा अन्तिम संस्कार गरिएको छ ।
मृतककाे दिल्लीमा शव बुझ्ने कोही नभएपछि दिल्लीस्थित सामाजिक संगठन ग्रीन तारा सोसाईटीका कार्यकारी सदस्य कृष्ण गुरुङको पहल र नेपाली जनसम्पर्क समिति (नेजस) भारतका अध्यक्ष बालकृष्ण पाण्डेले शवलाई जिम्मा लिएपछि अन्त्येष्टि गरिएको हो ।
नेजस भारतका अध्यक्ष एवं नेपाली काङ्ग्रेस आ केन्द्रिय सदस्य बालकृष्ण पाण्डेका अनुसार शवको अन्तिम संस्कार गर्न नेपालमा रहेका पारिवारिक सदस्यले आफूलाई पत्राचार गरेकाे बताएका थिए । तर कोरोना संक्रमणका कारण र परिवारिक सदस्य नेपालमा भएकाले शव लिन निकै समस्या भएको थियो । शव लिने प्रक्रियाका लागि दिल्लीस्थित नेपाली राजदूतावासको सहयोग माग गरिए पनि तीन दिनसम्म कुनै सहयोग प्राप्त नभएकाे र भारतको गृह मन्त्रालयको सहयोगमा शव प्राप्त भएको बताइएकाे छ ।
दिल्लीको पहाडगंज क्षेत्रमा कुरियर सेवा प्रदान गर्दै आएका झापाको सतासीधाम- ७ का स्थायी बासिन्दा ज्ञानबहादुर बस्नेतको ४९ वर्षको उमेर ७ जुनका दिन निधन भएको थियो । गत ४ जुनदेखि स्वास्थ्यमा समस्या देखिएका उनलाई ७ जुनमा उनकै छोराले छेउमै रहेको लेडिहार्डिङ अस्पताल लगेका थिए । तर सोही दिन उनको अस्पतालमै मृत्यु भएको हो । मृत्युपछि गरिएको परीक्षणमा उनलाई कोरोना पाेजेटिभ देखिएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !