सर्लाही,असार ६ गते सनिवार ।
शुक्रबार राती १ बजेको समयमा तस्करले अबैध रुपमा गाई, गोरु तस्करी गरि भारत तर्फ लैजादै गरेको सुराकीको अधारमा सर्लाहीको भाड्सर प्रहरी चौकीका इन्चार्ज मोहम्मद बसि अख्तर अन्सारीको कमाण्डमा खटिएको प्रहरी टोलिले भाड्सर कन्हौली नाकामा १५ थान गाई, गोरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी गराएका छन् ।
कोरोना भाइरसको संक्रमणले गर्दा सर्लाही जिल्ला अहिले विषम परिस्थितिबाट गुज्रिरहेको र रेडजोनमा समेत परेको अवस्थामा तस्करहरुको बढदो सक्रियताले यस क्षेत्रमा गाई, गोरुको तस्करीमा तीव्रता आएको स्थानीयहरुले बताउँछन् ।
प्रायः जसो राती र बिहानको समयमा तस्करहरु गाइ, गोरु लिएर आउने गरेका छन् । कुनै कुनै दिन दिउँसै समेत आउने गर्छन् । उनीहरुको निश्चित ठाउँ छ, त्यहाँ गाई, गोरुलाई रोकेर राख्ने गरेका छन् । कहिलेकाही भारतिय एसएसबी पुलिसले लाइन रोकेपछि ४/५ दिनसम्म पनि उक्त ठाउँमा नै रोकेर राख्ने गर्छन् । लाइन किलियर भएपछि पुनः ईन्डिया पठाउछन् । हामी यो सबै देखेर आजित भइसकेका छौ, हाम्रा बालिनाली समेत नस्ट हुने गरेको छ, स्थानीयहरुले यसरी बेलि बिस्तार सुनाए ।
गत जेठ ३० गते सर्लाहीको भारतीय सीमानाकासँग जोडिएको पर्सा गाउँपालिका वडा नम्बर-३ नारायणपुरमा जबरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय तस्करहरुले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । आत्मरक्षाकालागि सशस्त्र प्रहरीले गोली प्रहार गरेपछि एक जना भारतीय तस्करको मृत्यु समेत भएको थियो ।
उक्त घटना पश्चात् सर्लाहीको सिमानाकाहरुमा निगरानी बढाइएको छ । र सुरक्षाकर्मीहरुको थप उपस्थिति रहेकोले तस्करीका सामानहरु पक्राउ पर्न थालेका छन् ।
प्रहरीलाई देख्नेबित्तिकै तस्कर फरार भएकोले गाई, गोरु तस्करी गर्ने गिरोहको बारेमा अनुसन्धान भइरहेको र पक्राउ परेका गाइ, गोरुलाई भन्सार बुझाउने तयारी समेत भइरहेको प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कुवँरले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !