सिरहा,असार ६ गते सनिवार ।
सिरहा जिल्ला अस्पतालमा उपचाररत २६ जना कोरोना जितेर घर फर्किएका छन् ।
जिल्ला अस्पताल सिरहाको आईसोलेसनमा उपचाररत सिरहा नगरक्षेत्रका १८ जना, लहान नगरपालिका क्षेत्रका ५, भगवानपुर गाउँपालिकाका २ र नरहा गाउँपालिकाका १ जना पुरुष शुक्रवार डिस्चार्ज भएको डा.सरविन्द मण्डलले बताए ।
कोरोना जितेर घर फर्किएका उनीहरु भारतको विभिन्न सहरबाट फर्किएर सिरहा, लहान, नरहा र भगवानपुरकोे क्वारेनटाईनमा बसेका थिए । जेठ २३, २५, २७ र असार १ गते स्वाब संकलन गरी आएको रिर्पोटमा निगेटिभ भेटिएका उनीहरुलाई घर पठाईएको डा मण्डलले बताए । २६ जनामध्ये २ जनाको आरडिटी परिक्षणमा कोरोना भएको पुष्टि भएको र अन्यको पिसिआर गर्दा कोरोना भएको पुष्टि भएपछि जिल्ला अस्पताल सिरहाको आईसोलेसनमा राखिएको थियो ।
कोरोना जितेर यस अघि सिरहामा २६ जनालाई घर फर्किसकेको डा मण्डलले बताए । जिल्ला अस्पतालको आईसोलेसनमा अझैं १८ जना उपचाररत रहेका छन् भने जिल्लाभरीमा २० जना अझ आईसोलेसनमा रहेका छन्।
सिरहा जिल्लामा २ हजार २८६ जनाको पिसिआर जाँचको लागि स्वाब संकलन गरिएको छ भने २ हजार ४ जनाको आरडिटी परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

















