एजेन्सी,असार ६ गते सनिवार ।
बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेर सबैलाई चकित र केही प्रश्नहरु खडा गरेका छन् ।
सुशान्त सिंह राजपूतले आत्महत्या किन गरे ? उनी के कारणले डिप्रेसनमा परेका थिए ? प्रहरीले यस्ता प्रश्नको जवाफ खोजिरहेको छ । हालै सुशान्तकी प्रेमिका रेहा चक्रवर्तीसँग प्रहरीले ११ घन्टासम्म सोधपुछ गरेको छ ।
रेहा बिहान ११ बजे प्रहरी कार्यालय पुगिन् र राति १० बजे बाहिर निस्किइन् । रेहाले प्रहरीसँगको बयानका क्रममा केही महत्वपूूर्ण खुलासा गरेकी छन् ।
सोधपुछका क्रममा रेहाले प्रहरीलाई सुशान्त भित्रभित्रै कुनै समस्यासँग जुझिरहेको र सो कुरा उनले कसैलाई पनि नभनेको बताएकी छन् । सुशान्त चिन्ताका कारण एकतान्तमा जान्थे र फेरि पुणेको पावनामा फार्म हाउसमा पुग्थे ।
उनी डिप्रेसनमा परेपछि डाक्टरसँग समेत गएका थिए । उनलाई चिकित्सकले औषधि दिएपनि पछिल्ला केही दिनदेखि उनले औषधि सेवन गर्न छाडेका थिए ।
रेहाले प्रहरीलाई ६ जुनमा डिप्रेसनका कारण आफूलाई एक्लै छाडेर जान भनेका थिए । रेहाले सुशान्तको अवस्था देखेर आफूले केही नसोधीकन एक्लै छाडेर गएको बताएकी छन् ।
उनले आफूलाई केही दिनमा उनी ठीक हुने र एक्लै बसेर सोच्ने मौका पनि पाउने भएकाले आफू त्यहाँबाट गएको बताइन् । त्यसपछि रेहाले १४ जुनमा अचानक उनले आत्महत्या गरेको समाचार थाहा पाइन् ।
उनले प्रहरीलाई सुशान्तसँग सन् २०१३ मा पहिलो कुराकानी भएको बताइन् । त्यसबेला उनी ‘शुद्ध देशी रोमान्स’ फिल्म गरिरहेका थिए । त्यसपछि उनीहरुबीच सम्बन्ध सुरु भएको थियो ।
रेहा र सुशान्तले एक अर्काको नम्बर लिए र कुराकानी सुरु गरे । रेहाका अनुसार सुशान्त त्यसबेला पहिले देखि नै प्रेम सम्बन्धमा थिए । तर उनी रेहासँग नजिकिएका थिए ।
रेहाका अनुसार दुवैले सन् २०१७–१८ मा एक प्रोडक्सन हाउसबाट अलग भएर अलग अलग ब्यानरमा काम गर्ने निष्कर्षमा पुगे । यसपछि दुवैजना प्रेम सम्बन्धमा जोडिएका थिए ।

















