काठमाडौं,असार ६ गते सनिवार ।
सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको हो। कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जान चाहनेलाई पनि अनुमति दिने निर्णय गरेको छ । सिसिएमसीले वैदेशिक रोजगारीमा रही बिदामा नेपाल आएका वा नयाँ रोजगारीका लागि विदेश जानेहरूको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिफारिस गरेर पठाउने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनु भयो।
सरकारले चैत ११ गतेदेखि लकडाउन गरेयता वैदेशिक रोजगारीमा जाने क्रम ठप्प छ। विश्वभर कोरोना भाइरस फैलिएपछि अहिले सरकारले खाडीसहितका मुलुकबाट धमाधम उद्धार गरिरहेको छ। सरकारले शुक्रबारसम्म करिब २८ सय नागरिकलाई उद्धार गरेर ल्याइसकेको छ। त्यस्तै सिसिएमसीको बैठकले अध्ययनका लागि जानेहरूको हकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिफारिस गर्ने निर्णय पनि गरेको छ।
यस्तै विदेशमा रहेका नेपाली कुटनीतिक नियोगका कर्मचारीहरुका परिवारका सदस्यहरुलाई आवश्यक ‘प्रोटोकल’सहित जान छुट दिने निर्णय पनि सिसिएमसीले गरेको ज्ञवालीले बताए। सिसिएमसीले सम्बन्धित देश र रोजगारदाताले खर्च नव्यहोर्ने तथा आफ्नो खर्चमा नेपाल आउन नसक्ने श्रमिकहरुको हकमा सरकारी खर्चबाट नेपाल फर्काउने कार्यविधि बनाएर लागू गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !