काठमाडौं ,असार ४ गते बिहिवार ।
अतिक्रमित लिम्पियाधुरा सहितको भूभाग समेटिएको नेपालको नयाँ नक्सा राष्ट्रियसभाबाट आज बिहीबार पारित भएको हो । आज बसेको राष्ट्रिय सभा बैठकको संविधान संशोधन दोश्रो विधेयक दुई तिहाई बहुमतले पास गरेको छ ।
राष्ट्रियसभामा उपस्थित ५७ जना सांसदले संविधान संशोधनको पक्षमा मतदान गरेकोले सर्बसम्मत पारित भएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिानाले घोषणा गरे ।
यसअघि प्रतिनिधिसभाबाट गत जेठ ३१ गते नेपालको संविधानको धारा ९ को उपधारा २ अन्र्तगत अनुसुची ३ मा रहेको निशान छापभित्र रहेको नेपालको नयाँ नक्सा पारित भएको थियो । अब पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणिकरण गरेपछि आधिकारिक मान्यता पाउनेछ ।
विधेयक पारित हुनुअघि कानूनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक दोश्रो संशोधन पास गर्न प्रस्ताव पेश गरेकी थिइन् । उनले सो विधेयकमाथि बोल्दै आएको दिन ऐतिहासिक भएकोले दिपावली गर्न आग्रह गरेकी थिइन् ।
उनले नेपालको स्वाभिमान र राष्ट्रियताको पक्षमा सबै दलहरु एकजुट भएर नेपाल बलियो रहेको सन्देश दिएको बताउँदै भारतसँग ऐतिहासिक तथ्यका आधारमा वार्ता गर्ने उल्लेख गरिन् । विधेयकमाथिको छलफलका क्रममा सांसदहरुले लिम्पियाधुरा, कालापानी नेपालको रहेको तथ्यहरु प्रस्तुत गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !