एजेन्सी ,असार ३ गते बुधबार ।
चीन र भारत बीचको सीमामा भएको हिंसाप्रति संयुक्त राष्ट्रसंघको चासो व्यक्त गरेको बताइएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले सो विषयमा चासो व्यक्त गर्नुभएको छ । भारत र चीनबीचको सीमामा भएको विवाद र सैनिक झडपमा परी २० जना भारतीय सैनिकको ज्यान गएको बताइएको थियो । साथै संयुक्त राष्ट्रसंघका महासचिवले सो विषयमा वार्ताको माध्यमबाट विवादको समाधान खोज्नका लागि पनि आह्वान गर्नुभएको बताइएको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसकोतर्फबाट सहायक प्रवक्ताद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ– भारत र चीनबीचको सो विवादमा केही सैनिक हताहत भएको समाचार पनि हामीले सुनेका छौँ, हामीले परिस्थितिलाई थप उत्तेजक नबनाइ वार्ताको माध्यमबाट समाधान खोज्न दुवै पक्षलाई आग्रह गर्दछौँ । भारत र चीनबीचको ग्वालन भ्यालीस्थित लदाखमा यही जुन १५ को राति भारत र चीनका सीमा सुरक्षा सैनिकबीच झडप भएको बताइएको छ ।
सो झडपमा परेर भारतका कम्तीमा पनि २० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ । त्यस्तै चीनले पनि आफ्ना सैनिक मारिएको जनाएको छ । चीनका उप विदेशमन्त्री लुओ जाहोइ र चीनका लागि भारतका राजदूत विक्रम मिश्रीबीच बुधबार चीनको राजधानी बेइजिङमा भेटवार्ता भएको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !