चितवन, असार २ गते मंगलवार ।
भरतपुर महानगरभित्रका १०४ वटा सामुदायिक विद्यालयको नयाँ भवन निर्माण हुने भएको छ ।
महानगरले आर्थिक वर्ष ०७६/७७ को बजेटबाट १ सय ४ वटा सामुदायिक विद्यालयमा विभिन्न संरचना निर्माण गर्न लागेको हो । महानगरभित्र १ सय २३ वटा सामुदायिक विद्यालय छन् ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि अपाङगमैत्रीसहितको नयाँ भवन निर्माण गर्न लागेको भरतपुर महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । भरतपुर महानगरभित्र गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयलाई प्रमुख आर्कषणको केन्द्र बनाउन भौतिक संरचनालाई प्राथमिकता दिइएको नगर प्रमुख दाहालले बताइन् ।
‘आजको शिक्षा गुणस्तरीय हुनुपर्छ’ उनले भनिन्, ‘अबको शिक्षा व्यवहारिक, प्रतिष्पर्धी, सक्षम र सवल हुनुपर्छ । महानगरले शिक्षा क्षेत्रको बजेट विनियोजनामा सम्झौता गर्दैन । आउँदो नगरसभाबाट शिक्षा शीर्षकमा थप बजेट वृद्धि गर्छौ ।’
महानगरलाई शैक्षिक हबको रुपमा विकास गर्न सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि गर्नु आजको आवश्यकता रहेको महानगर प्रमुख दाहालको भनाई छ ।
नयाँ निर्माण हुने भवनहरु चार कोठे, तीन कोठे र दुई कोठे हुनेछन् । अपाङ्गमैत्री तथा भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्न जिल्ला आयोजना कार्यन्वन ईकाइ भरतपुरले १७ वटा विद्यालयलको लागि ११ करोड ७० लाख रुपैयाँ लगानी गर्ने बताइएको छ ।
करिब १८ करोडको लागतमा निर्माण हुन लागेको भवन निर्माण कार्यक्रमका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले बजेट विनियोजन गरेका हुन् । संघीय सरकारबाट १ करोड ३३ लाख र भरतपुर महानगरको अन्तरिक स्रोतबाट रु ४ करोड ९५ लाख छुटाइएको छ । भवन निर्माणको काम बहुवर्षिय योजना अनुसार अघि बढ्ने महानगर प्रमुख दाहालले बताइन् ।
विद्यालयको ४ कोठे भवन निर्माणका लागि ६८ देखि ७० लाख, ३ कोठे निर्माण गर्न ३६ देखी ३८ लाख र दुई कोठेको लागि २६ देखि २७ खर्च लाग्ने अनुमान गरिएको छ । विनियोजित बजेटबाट विद्यालयको रङ रोगन, फर्निचर, विज्ञान प्रयोगशालाका लागि पनि रकम छुट्याइएको छ । रंगरोगनमा ४२ लाख, विज्ञान प्रयोगशालाको लागि २४ लाख र फर्निचरमा १८ लाख खर्च हुनेछ ।
यो बाहेक १६ वटा विद्यालयमा खानेपानी र १६ वटा विद्यालयमा शौचालय निर्माणको कार्य भइरहेको छ । प्रति शैचालयको लागि १२ देखि १५ लाख र खानेपानीको धारा निर्माणका लागि ३ देखि ७ लाखसम्म खर्च छुटाइएको छ । महानगरले बजेट विनियोजन गरेपछि अहिले भवन निर्माणको कामले गति लिएको छ । महानगर प्रमुखले विभिन्न विद्यालयमा पुगी भवनको शिलन्यास समेत गरेकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !