काठमाडौं,जेठ ३२ गते आइतबार ।
व्यापक जनआक्रोश र प्रदर्शनपछि सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले शनिबार खर्चको फाँटवारी विवरण सार्वजनिक गरेको हो ।
कोरोना नियन्त्रणका लागि अहिलेसम्म १० अर्ब रुपैयाँ खर्च भइसकेको सरकारले जानकारी गराएसँगै सदनदेखि सडकसम्म त्यसको विवरण मागिएको थियो । उच्चस्तरीय कोरोना नियन्त्रण समिति सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो । यसअघि १० अर्ब खर्च भएको चर्चा चलिरहे पनि तीनै तहबाट हालसम्म ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ ।
– ८ अर्ब ३९ करोड खर्च
– सबैभन्दा धेरै सुदूरपश्चिममा
संघीय सञ्चित कोषबाट स्रोत व्यवस्थापन गरिएको रकममध्ये सबैभन्दा धेरै रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च गरेको छ । यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ करोड २० लाख, शिक्षा मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार र गृह मन्त्रालयले २ करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ ।
यसैगरी, औषधि स्वास्थ्य सामग्रीमा ३ अर्ब ९० करोड ८८ लाख रुपैयाँ, स्वास्थ्य पूर्वाधारमा १ अर्ब १२ करोड ५० लाख रुपैयाँ, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार रुपैयाँ र क्वारेन्टिनमा १३ करोड ५५ लाख ९८ हजार रुपैयाँ खर्च भएको सरकारले जनाएको छ । ‘अन्य’ शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ खर्च भएको विवरण छ । अन्यभित्र के–के समावेश गरिएको छ भन्ने खुलाइएको छैन ।
यस्तो छ खर्च विवरण (रुपैयाँमा)
प्रदेश १ : १९ करोड ३५ लाख ६० हजार
प्रदेश २ : १३ करोड ३९ लाख ४६ हजार
बाग्मती प्रदेश : १३ करोड ६७ लाख
गण्डकी प्रदेश : १५ करोड ४२ लाख १० हजार
प्रदेश ५ : ७ करोड ७९ लाख ३० हजार
कर्णाली प्रदेश : २३ करोड ९२ लाख ८३ हजार
सुदूरपश्चिम प्रदेश : ३६ करोड ४८ लाख ७० हजार
यसैगरी, प्रदेश १ सरकारले १९ करोड ३५ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश २ ले १३ करोड ३९ लाख ४६ हजार, बाग्मती प्रदेशले १३ करोड ६७ लाख र गण्डकी प्रदेशले १५ करोड ४२ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् ।
यसैगरी, प्रदेश ५ ले ७ करोड ७९ लाख ३० हजार, कर्णाली प्रदेशले २३ करोड ९२ लाख ९३ हजार र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च गरेका छन् । सरकारले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै खर्च सुदूरपश्चिम प्रदेशमा र सबैभन्दा कम खर्च प्रदेश ५ मा भएको देखिन्छ । स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।
यसअघि उच्चस्तरीय कोरोना नियन्त्रण समिति र प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा १० अर्ब खर्च भएको सार्वजनिक गरेका थिए । दुवै निकायले सार्वजनिक गरेको तथ्यांक र प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले शनिबार सार्वजनिक गरको तथ्यांक बीचमा फरक देखिएको छ । सरकारले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकले झन्डै डेढ अर्बको हिसाबकिताब खै त भन्ने प्रश्न उब्जिएको छ ।
उच्चस्तरीय समिति, प्रधानमन्त्री र मन्त्रीहरूले संसद्मा बोलेको हिसाब अनि अहिले सार्वजनिक भएको तथ्यांकबीच कसरी फरक प-यो ? त्यसको विस्तृत विवरण सार्वजनिक भएको छैन । यसअघि संसद्मा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा तीनवटै सरकारका तर्फबाट ९ अर्ब ८७ करोड खर्च भएको जानकारी दिएका थिए ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको सीसीएमसीले शनिबार सार्वजनिक गरेको सो विवरणमा उल्लिखित खर्चहरु कहिलेसम्म भएको हो भनेर स्पष्ट व्याख्या गरिएको छैन । विवरणमा ‘तीनवटै तहबाट हालसम्म भएको खर्च’ भनिएको छ । तर, त्यसको मिति र समय तोकिएको छैन । सामान्यतया खर्चको विवरण सार्वजनिक गर्दा महिना र दिनसमेत तोकिनुपर्छ । तर, यो विवरणले खर्च विवरणको सामान्य औपचारिकतालाई पनि पालना गरेको छैन ।
सरकारले कोरोना नियन्त्रणका हरेक काममा सेनालाई अघि सार्दा पनि सरकार विवादित बनेको छ । सेनाले जिटूजीमार्फत चीनबाट खरिद गरेको मेडिकल सामग्रीमा १ अर्बभन्दा धेरै अनियमिता गरेको विषयले समेत सरकारलाई अप्ठ्यारोमा पारेको छ ।
राजधानी दैनिक बाट

















