विराटनगर ,जेठ २८ गते बुधबार ।
विराटनगर महानगरपालिका वडा नम्बर –३ स्थित दूधफारमनजिक प्रहरीकै गाडीका कारण भएको दुर्घटनामा पीडित युवालाई पैसा तिराएर प्रहरीले अर्को बद्मासी गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक
मिलन थापाले चलाएको बा २ झ ४४०७ नम्बरको गाडीका कारण शनिबार साँझ दुर्घटना भएको थियो । थापाले चलाएको गाडी विराटनगर –१२ बस्ने २२ वर्षीय महेन्द्र राईले चलाएको को ३३ प १५५० नम्बरको मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको थियो ।
थापाले गाडी एक्कासी ट्रन गराउँदा उत्तरबाट आइरहेको मोटरसाइकलमा ठोक्किएर दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ । त्यतिबेलै प्रहरीले राईलाई पक्राउ गरेर रातभर हिरासतमा राख्यो । दुर्घटना गराएर गाडीमा क्षति पु¥याएको भन्दै पीडित राईलाई भोलिपल्ट ५० हजार रुपैयाँ तिर्ने कागज गराएर छाडेको पाइएको हो । आफ्नै गल्तीले दुर्घटना भएको भए पनि स्वास्थ्य परीक्षणका क्रममा मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको खुलेपछि प्रहरीले उनलाई हिरासतमा राखेर ‘बार्गेनिङ’ थालेको स्रोतको भनाइ छ ।

तर प्रहरीको गाडीका चालक रहेका इन्सपेक्टर थापाको भनेस्वास्थ्य परीक्षण भएन । सवारी साधन एकआपसमा ठोक्किएर भएको दुर्घटनामा मापसे गरे÷नगरेको र चालकको स्वास्थ्य अवस्था ठीक भए÷नभएको विषयमा दुवै साधनका चालकको स्वास्थ्य परीक्षण गराइन्छ । तर मोटरसाइकल चालकको मात्रै स्वास्थ्य परीक्षण गरेर इन्सपेक्टर थापालाई भने उन्मुक्ति दिएको देखिन्छ।
‘दुहवीतिरबाट आउँदै गर्दा दूधफारम नजिक आइपुगेपछि एउटा सेतो गाडी एक्कासी मोडिएर आइपुग्यो,’ मोटरसाइकल चालक राईले भने, ‘लेन मिच्दै गाडी मेरै लेनमा आइपुगेपछि जोगाउन खोज्दाखोज्दै सम्भव नै भएन ।’ गाडी मोटरसाइकलमा आएर ठोक्किए पनि प्रहरीको गाडीलाई मोटरसाइकलले हानेको भन्दै पक्राउ गरिएको उनले बताए।
आफूले मापसे गरेका बेला गाडी चलाएर गल्ती गरेको स्वीकार गर्दागर्दै प्रहरीले भने आफ्नो गल्ती र कमजोरीलाई लुकाएको उनको भनाइ छ । लेन मिचेर प्रहरीको गाडीले गराएको दुर्घटनामा आफूलाई मात्रै एकलौटी पेल्ने काम भएको र प्रहरीका चालकलाई उन्मुक्ती मिलेकोमा आश्चर्य लागेको उनको गुनासो छ । ‘मलाई रातभर थुनेर ५० हजार रुपैयाँ नतिरेमा मुद्दा चलाउँछौं भन्दै प्रहरीले धम्क्याए,’ उनले भने, ‘म हिरासतमै रहेका बेला भोलिपल्ट अभिभावक र आफन्त आएर पैसा तिर्ने कागजमा हस्ताक्षर गरिदिएपछि मात्रै मलाई छाडियो ।’ राईले आफ्ना कुरा राख्न नदिइकन एकलौटी रुपमा पेलेर दुर्घटनाको दोषी देखाउने काम गरेको गुनासो पनि गरे।
रातभर थुनेकाले आफूमाथि प्रहरीले अरु थप कारबाही गर्न सक्ने भयका कारण अभिभावक र आफन्त प्रहरीले भने जति पैसा दिन तयार भएको राईको भनाइ छ । बाहिर निस्किएर पनि आफूलाई बोल्न नदिएको र केही बोलेमा मुद्दा चलाउने भनेर धम्क्याउने काम भएको उनको गुनासो छ।
सुरुमा ९० हजार मागिए पनि तिर्न नसक्ने बताएपछि कागज गर्दै असार १ गतेसम्ममा ५० हजार बुझाउने सर्तमा आफूलाई छाडिएको जानकारी दिए । खोटाङ घर भएका राई विराटनगरमा डेरा बस्छन् । ‘ लकडाउनले खान नै नपाउने अवस्था छ यति धेरै पैसा कहाँबाट ल्याएर तिर्नु’ राईले भने।
सवारी साधन अपुग भएपछि लकडाउन अवधि भरका लागि खानेपानी सरसफाई डिभिजन कार्यालयको उक्त गाडी जिल्ला प्रशासन कार्यालय मोरङले प्रहरीलाई उपलब्ध गराएको थियो । तर त्यस दिनको ड्युटी अफिसर समेत रहेका इन्सपेक्टर थापाले बिना जानकारी व्यक्तिगत प्रयोजनका लागि लिएर गएको गाडी दुर्घटनामा परेपछि भने ड्युटीका क्रममा घटना भएको भन्ने देखाइएको छ।
त्यतिबेला गाडीमा लेखापाल प्रहरी नायब निरीक्षक राधाकृष्ण दाहालसमेत रहेको बताइए पनि दाहाल नभएको र इन्सपेक्टर थापा मात्रै रहेको भन्ने बनाइएको छ । इन्सपेक्टर थापाले मोटरसाइकल चालक युवा रहेको र मुद्दा चलाउँदा भविष्य विग्रने भएपछि दुर्घटनाबाट क्षति पुगेको गाडी बनाउने पैसा दिने भएकाले घटनालाई सहज बनाएर लगिएको बताए।
पैसा लिनै पर्ने भयो : एसपी अधिकारी
मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले दुर्घटनाबाट क्षति पुगेको गाडी बनाउनका लागि मोटरसाइकल चालकसँग पैसा लिनै पर्ने अवस्था आएको बताए।
‘दुर्घटनाबाट सरकारी सवारीमा क्षति पुगेकाले गाडी बनाउन लाग्ने आधा पैसा इन्सपेक्टर आफैँले बेहोर्नु पर्ने छ,’ उनले भने, ‘आधा मोटरसाइकल चालकसँग नलिए कहाँको पैसाले गाडी बनाउनु ?’ उनले तत्काल हेर्दा मापसे गरेको चालकले चलाएको मोटरसाइकलले सरकारी गाडीमा ठक्कर दिएको देखिने बताए । दुर्घटनामा कसको गल्ती थियो भन्ने कुराको थप छानबिन भइरहेकाले दोषी देखिनेमाथि भने कारबाही हुने अधिकारीले बताए।
उनले ड्युटीका क्रममा दुर्घटना भएकाले इन्सपेक्टरको स्वास्थ्य परीक्षण गराउन आवश्यक नभएको बताए । भने, ‘मापसे गरेकाले यो दुर्घटनामा मोटरसाइकल चालककै गल्ती छ । त्यही भएर उसले गाडी बनाउने पैसा तिर्नुपर्छ भन्ने कुराबाट कुनै पनि हालतमा पछि हट्न सकिँदैन ।’
माथिल्लो निकायमा थिएन जानकारी
कुनै घटना हुँदा माथिल्लो निकायमा जानकारी गराउनु पर्ने भए पनि मोरङ प्रहरीले यस विषयमा प्रदेश १ प्रहरी कार्यालय र प्रहरी प्रधान कार्यालयमा समेत जानकारी नगराएको पाइएको छ । दुवै निकायले जिप्रका मोरङलाई घटनाको जानकारी नगराएको विषयमा मौखिक स्पष्टिकरण सोधिसकेका छन्।
घटना भएको भोलिपल्ट प्रदेश १ प्रहरी प्रमुख डीआईजी ईश्वरबाबु कार्कीले यस बारेमा आफूलाई कुनै जानकारी नभएको बताएका थिए । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी निरजबहादुर शाहीले घटनालाई गोप्य राख्न खोजिएको विषयमा प्रहरी प्रधान कार्यालयको ध्यानआकर्षण भइसकेकाले प्रहरी भए पनि गल्ती गर्नेलाई उन्मुक्ती नमिल्ने बताए ।
छानबिन समितिमाथि नै शंका
दुर्घटनाको छानबिन मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईको नेतृत्वमा तीन सदस्यीय आन्तरिक छानबिन समिति मंगलबार गठन गरिएको छ । घटनाको सत्यतथ्य र वास्तविकता पत्ता लगाउँदै एक साता भित्रमा प्रतिवेदन बुझाउने गरी समितिलाई समय दिइएको छ । तर एउटै कार्यालयमा कार्यरत प्रहरी अधिकारीबाट छानबिन भएर घटनाको वास्तविकता बाहिर आउने कुरामा मोटरसाइकल चालकका आफन्तले शंका व्यक्त गरेका छन्।
‘यो घटनाको सत्यतथ्य लुकाउन मोरङ प्रहरीले निक्कै प्रयत्न गरिरहेको छ । मोटरसाइकल चालकलाई लगेर थुन्नु र पैसा तिराउनुले यसको पुष्टि हुन्छ,’ एक आफन्तले भने, ‘यति हुँदा हुँदै पनि त्यही कार्यालय भित्रबाट गठन भएको छानबिन समितिको निश्पक्षतामा प्रश्न खडा भएको छ । हामीलाई कुनै विश्वास नभएको यो समिति गठन बेकार हो ।’ उनले यो घटनाबाट बर्दी र बन्दुकका आडमा जे गर्दा पनि हुन्छ भन्ने प्रहरीले देखाउन खोजेको बताए।
घटनाका प्रत्यक्षदर्शी र मोटरसाइकल चालक राईले समेत इन्सपेक्टर थापाले मापसे गरे जस्तो देखिएको बताएका छन् । तर थापाले भने आफूले मापसे नगरेको बताउँदै आएका छन् । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डीएसपी सुमनकुमार तिमल्सिनाले घटनाका बारेमा मोरङले आन्तरिक छानबिन थालेको बताउँदै प्रदेश प्रहरी कार्यालयबाट पनि आफ्नै हिसाबले छानबिन गर्ने काम भइरहेको जानकारी दिनु भयो ।
अन्नपूर्ण पोस्ट बाट ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !