भक्तपुर,जेठ २८ गते बुधबार ।
नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरी गैरकानुनी रुपमा ५ करोड सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा लगाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लकडाउनका बीचमा पनि उजुरीमा छानबिन गरिरहेको छ । अख्तियारले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्नेहरुका बारेमा परेका उजुरीमा अनुसन्धान गर्ने कार्यलाई तीव्रता दिएको छ ।
राजस्व समूहका अधिकृत र उपसचिवको अकूत सम्पत्ति छानबिन गरिरहेको अख्तियारले मालपोत, नापी, यातायात कार्यालय जस्ता जनसम्पर्क हुने कार्यालयका कर्मचारीहरुउपर पनि अनुसन्धानलाई तीव्रता दिएको छ । दर्जा तल्लो तह भए पनि करोडौं सम्पत्ति आर्जन गर्ने मालपोत कार्यालय ललितपुरका बद्री ढकाल, गा.वि.स( सचिव हुँदै नगरपालिकाको कार्यकारी अधिकृत भएका ऋषिराम अर्यालले गैरकानुनी रुपमा भ्रष्टाचार गरी १० औं करोड सम्पत्ति आर्जन गरेको फेलापरेपछि अख्तियारले मुद्दा दायर गरिसकेको छ ।
यसैक्रममा भक्तपुर नापी कार्यालयका सर्भेक्षक(नायबसुब्बास्तर)का राजेन्द्र काफ्लेले पदमा हुँदा घुस खाएर अकूत सम्पत्ति आर्जन गरेको फेला परेपछि आज मुद्दा दायर गरेको छ । ०५४ साल पुसदेखि २०७६ वैशाखसम्म सरकारी सेवामा रहँदा काफ्लेले ले ५ करोड ४३ लाख २७ हजार बराबरको अवैध सम्पत्ति थुपारेको भन्दै मंगलबार भ्रष्टाचार मुद्दा चलाएको हो । उनलाई २ वर्षसम्म कैद र विगो बमोजिम जरिवाना माग गरिएको छ ।
उनले भ्रष्टाचार गरी कमाएको सम्पत्ति जफत गर्न पनि अख्तियारले माग गरेको छ । सरकारी सेवाको २२ वर्ष अवधि र अरू सम्पत्ति गरी उनको वैध आय जम्मा १ करोड १७ लाख ४१ हजार हुने पनि अख्तियारले जनाएको छ । काफ्लेले आफ्नो हैसियतभन्दा पनि धेरै जग्गा जमिन खरिद गर्ने, महँगोमा खरिद गरेर कम मूल्यका कागजात बनाउने, र श्रीमतीको नाममा सम्पत्ति थुपार्ने गरेको भन्दै उजुरी परेको थियो ।
उक्त उजुरीमा छानबिन गर्दा काफ्लेले सार्वजनिक सेवाको पदमा बहाल भएका बेला गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो तथा अस्वभाविक उच्च जीवनस्तरयापन गरेको तथ्यप्रमाणबाट पुष्टि हुने अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
उनकी श्रीमती सुशीला काफ्लेको नाममा रहेका जग्गा जमिन, बैंक ब्यालेन्स रोक्का गरी जफत गर्न पनि अख्तियारको माग छ । काफ्ले नेपाली कांग्रेसनिकट निजामती कर्मचारी युनियन संघको नेताका रुपमा सधैं आकर्षक नापी कार्यालयमा कार्यरत रहँदैआएका सर्भेक्षक हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !