काठमाडौं,जेठ २६ गते सोमबार ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले डा. बाबुराम भट्टराईले आफ्नो वरियता चौथो नम्बरमा राख्न मानेर राजनीतिक उचाई झन बढेको बताउनुभएकाे छ ।
सोमबार बिहान ट्वीटमार्फत अध्यक्ष थापाले लेख्नुभएकाे छ- ‘लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उहाॅको स्थान कायम भैसकेको छ । एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाई अझै बढेको देखिन्छ ।’
अध्यक्ष थापा राजनीतिक उचाई निर्वाचन आयोगमा पेश भएको कागजले नगर्ने पनि बताउनुभएकाे छ । ‘वरियताको विषयमा बाबुराम भट्टराईलाई केहीले खिसी गरेको पढें, बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ । तर, उहाँको वरियता/राजनीतिक उचाइ निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ ।
निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता गर्नुअघि बाबुराम भट्टराईलाई दोस्रो वरियताको अध्यक्ष बनाइएको भए पनि निर्वाचन आयोगमा पुग्दा भने उनको नाम ‘टिपेक्स’ले मेटेर बाबुरामलाई अशोक राई भन्दा तल चौथो क्रमको वरिष्ठ नेताको रुपमा राखिएको छ । चौथो वरियतामा राखेपछि सामाजिक संजालमा भट्टराई र जसपाको टिका टिप्पणी सुरु हुन थालेको छ।
पार्टी दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् । कार्यसमिति र केन्द्रीय नेतृत्वको वरियतामा सहमति गरेर कागज तयार गर्दा महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई अध्यक्ष बनाइएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !