रोल्पा ,जेठ २५ गते आइतबार ।
हामी सबैले अनुमान गर्न सक्छौं । विशिष्ट पदमा पुगेका व्यक्तिको दैनिकी कसरी चलिरहेको होला भनेर । जनतासँग भेटघाट । उच्पदस्थ व्यक्तिहरुसँग छलफल अथवा केही राजनीतिक काम । धेरै विशिष्ट पदमा पुगेका व्यक्तिहरुको दैनिकी यसरी नै चल्छ । ठूलो पदमा पुगेका मान्छेहरुले सामान्य काम गर्नुहुन्न भन्ने हाम्रो संस्कार नै बनेको छ ।

तर, पूर्वसभामुख कृष्णबहादुर महरा भने अहिले आफ्नो पुर्खेउली घर रोल्पामा गएर बारीमा हलो जोत्दै हुनुहुन्छ । संसद् बैठक स्थगित भएको मौका पारेर महरा अहिले रोल्पा आउनुभएको छ ।
‘राजनीति गरेदेखि सधै बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जोत्ने मौका नै मिलेको थिएन,’ उहाँले भन्नुभयो, ‘अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्खेउली घर आएका छौं ।’
नेपालमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रधानन्याधिशलाई सम्माननिय पद मानिन्छ । यो पदमा पुगिसकेका व्यक्ति यसरी खेतिपातिमा जोडिएको नेपालको इतिहासमा पहिलो नै हो ।
‘हामी जनताबाट चुनिएर गएका व्यक्तिहरु जनताभन्दा पटक्कै फरक होइनौं, जनताको जिवनशैली र हाम्रो जिवनशैलीमा फरक आउनुहुन्न भन्ने मेरो मान्यता हो,’ महराले भन्नुभयो, ‘जिम्मेवारी अनुसार जुनसुकै काम पनि गर्न सक्नुपर्छ, आवश्यक पर्दा नेताको भूमिकामा रहने फरक कुरा हो, तर हामी र जनताबीच फरक हुनुहुँदैन ।’
कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्री समेत रहनुभएका महराले नेपालले कृषि उत्पादनलाई बढाउनुपर्नेमा जोड दिनुभयो । ‘हामी कृषिमा आत्मनिर्भर हुनैपर्छ, नेपाललाई परनिर्भरमुखी अर्थतन्त्रबाट आत्मनिर्भर बनाउने प्रमुख आधार भनेकै कृषि उत्पादन हो ।’
लामो समय शिक्षण पेशा गर्नुभएका महरा २०४८ सालमा पहिलो पटक संसद्मा निर्वाचित हुनुभएको थियो । २०५२ सालमा भूमिगत राजनीति शुरु गर्नुभएका महराले नेपालको शान्तिप्रकृया सम्पन्न गर्नमा मुख्य भूमिका निर्वाह गर्नुभएको थियो ।
तत्कालिन विद्रोही शक्ति नेकपा माओवादीले गठन गरेका सबै वार्ता टोलीमा महरा हुनुहुन्थ्यो । सधै सहमति, सहकार्य र राष्ट्रिय एकतामा जोड दिदै आउनुभएका महरा नेपाली राजनीतिमा कुटनीतिक क्षमता भएका नेताको रुपमा चिनिनुहुन्छ ।
आँफूमाथी नैतिकताको विषयमा प्रश्न उठेपछि उहाँले सभामुख पदबाट राजिनामा दिनुभएको थियो । तर, काठमाण्डौं जिल्ला अदालतले महरामाथी लगाइएका सबै आरोपहरु पूर्णरुपमा गलत भएको भन्दै निर्दोष सावित गरेर सफाई दिइसकेको छ ।
महराले राष्ट्रिय स्वाधिनताको पक्षमा दृढरुपमा अडान लिएका कारण नियोजित रुपमा फसाइएको बताइन्छ । उहाँ दाङ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद् हुनुहुन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !