लहान ,जेठ २५ गते आइतबार ।
रौतहट जिल्लाको राजपुर फरहदवा बमकाण्डका एक आरोपी आज पक्राउ परेका छन् ।
प्रदेश प्रहरी कार्यालय जनकपुरधामको ब्यूरो टोलीले बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर – ४ का ५५ बर्षीय मुक्ति साहलाई पक्राउ गरेको छ।
भारतको सीमावर्ती इलाका सिम्रौनगढ नगरपालिका वडा नम्बर – ८ बाट शनिबार राति पक्राउ गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिनु भयो । पक्राउ परेका साहलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत रौतहटमा बुझाइएको उनले बताए ।
२०६४ साल चैतमा संविधानसभा निर्वाचन हुने अघिल्लो दिन बम बनाउँदा घाइते भएका मानिसलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोपमा कांग्रेस सांसद मोहम्मद अफताव आलम हाल पुर्पक्षका लागि थुनामा छन् । सोही घटनामा मारिएको भनिएका युवकको बाबु श्रीनारायण राजपुतको जाहेरीमा साह पनि अभियुक्त किटान गरिएको थियो ।
पक्राउ परेका साहले तत्कालिन कांग्रेस नेता आफताब आलमको निर्देशनमा आफूले मृत्यु भएका २/३ जना र घाइते भएका १६ जनालाई ट्याक्टरमा लिएर इँटा उद्योगको चिम्नीमा लगी जलाएको बयान दिएको डीआईजी सिंहले बताउनुभयो । त्यस क्रममा विस्फोट हुँदा श्रीनारायण सिंहका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहसहित १५/१६ जना घाइते र २/३ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ ।
घटनापछि साहले आलमकै निर्देशनमा मृतक र घाइतेहरुलाई ट्याक्टरमा लोड गरी नजिकैको राजा इँटा उद्योगमा लगी जलाएको बयान प्रहरी समक्ष दिएको प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !