बाँके, जेठ २४ गते सनिवार ।
जिल्ला प्रशासन कार्यालय बाँकेले वार अनुसार पसल खोल्न दिने निर्णय खारेज गर्दै बन्दाबन्दी पुन : कडा गरेको छ ।
बजार र पसल व्यवसाय सञ्चालन गर्दा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने देखिएकाले सो निर्णयलाई खारेज गरेर बन्दाबन्दीलाई थप प्रभावकारी बनाइएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
यसअघि जिल्ला प्रशासन कार्यालयले सर्वदलीय बैठक गरेर वार अनुसार पसल व्यवसाय खोल्न दिने निर्णय गरेको थियो । अत्यावश्यक र दैनिक उपभोग्य वस्तुसँग सम्बन्धितबाहेक अन्य पसल सञ्चालनमा रोक लगाएको छ ।
उनका अनुसार जिल्लामा अब बिहान ११ देखि दिनको ३ बजेसम्म अत्यावश्यक र दैनिक उपभोग्य वस्तुसँग सम्बन्धित पसल मात्र सञ्चालन गर्न प्रशासनले सूचना जारी गरेको छ । वार अनुसार पसल सञ्चालन गर्न दिने निर्णयको भोलिपल्ट बिहीवार मात्रै ४२ नयाँ संक्रमित थपिएपछि प्रशासनले निर्णय फिर्ता लिई बन्दाबन्दीलाई पूर्णरूपमा पालना गर्न आग्रह गरेको छ ।
जिल्लामा संक्रमितको संख्या २५५ पुगेको छ भने ४० जनाले कोरोना पराजित गरी घर फर्किएका छन् । पछिल्लोपटक बिहीबार जानकी गाउँपालिकामा भेटिएका ४० जनालाई वडा नम्बर २ जोगागाउँमा आइसोलेसन केन्द्र बनाइ व्यवस्थापन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !