मकवानपुर,जेठ २३ गते शुक्रबार ।
सालकको खपटासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ स्थित सङ्गछेफेल गुम्बाबाट प्रहरीले सालकको खपटासहित उनीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–७,रमनटारका ३९ बर्षीय अबमिकल घलान, हेटौंडा उपमहानगरपालिका–१२ का ३२ बर्षीय लालसिं बम्जन र चितवनको राप्ती नगरपालिका–७ खुरखुरेका ५५ वर्षीय बुधवा चौधरी रहेको प्रहरीले जनाएको छ ।
गुम्बाको पछाडि लामाहरुलाई बस्नका लागि बन्दै गरेको गुम्बामा अबमिकलले केही मानिसहरुलाई बोलाई सालकको खापेटाको कारोबार गरिरहेको सूचनाको आधारमा मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
गुम्बाको प्यासेजको दक्षिणतर्फको कुनामा रहेको भर्याङमुनि बसिरहेको अवस्थामा उनीहरुलई फेला पारी खानतलासी गर्दा चौधरीले बोकेको झोलाभित्र ६५० ग्राम सालकको खापेटा बरामद भएको मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले जानकारी दिए ।
उनीहरुलाई आवश्यक अनुसन्धानको लागी डिभिजन वन कार्यालय राप्ती मनहरी मकवानपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !