धनगढी,जेठ २३ गते। सेती प्रादेशिक अस्पतालले शुक्रबार डिस्चार्ज गरेका ६ जना कोरोना भाइरस संक्रमितलाई सम्बन्धित जिल्लासम्म पठाउने व्यवस्था अझै भएको छैन्।
दिउसो २ बजे उनीहरुलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसनबाट डिस्चार्ज गरीएकोमा अझै सम्बन्धित जिल्लासम्म पुगाउने व्यवस्था नभएपछि उनीहरु धनगढीमा अलपत्र छन्। उनीहरु पानीमा भिज्दै अहिले बजारमा निस्किएका छन्।
अस्पतालको आइसोलेसनमा उपचाररत अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ का २० र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरिएको थियो।
‘हामीलाई एक्कासी अस्पतालको आईसोलेसनबाट घर जान भनियो,’ शिवनाथ गाउँपालिकाका संक्रमितले भने, ‘न गाडीको व्यवस्था गरिएको छ न त आजका लागि बस्ने व्यवस्था नै गरिएको छ। पानीमा भिज्न थालेका छौ। छाता किन्न गईरहेका छौ।’
अछामका ३२ बर्षीय संक्रमित पुरुषले पनि कुनै समन्वय नगरी अस्पतालबाट डिस्चार्ज गरिएपछि अलपत्र परेको गुनासो गरे। ६ जना संक्रमितले कोरोना नजितेपनि स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको थियो।
यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था रहेकोमा स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गरेपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो।
लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !