विराटनगर,जेठ २२ गते । प्रदेश १ मा आज बिहीबार ३० जना संक्रमित कोरोनामुक्त भएर अस्पताबाट डिस्चार्ज भएका छन् । विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका २७ जना कोरोना मुक्त भई डिस्चार्ज भएका हुन् भने तीनजना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट डिस्चार्ज भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरस्थित कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना भएका २७ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएपछि । डिस्चार्ज हुनेमा उदयपुरका एक पत्रकार र धनकुटाका चार स्वास्थ्यकर्मीसमेत छन् ।

उदयपुरका एक महिला र दुई पुरुष, झापाका ७ पुरुष, मोरङका एक महिलासहित ६ जना, सुनसरीका ४, धनकुटाका २ महिला र दुई पुरुष, खोटाङका एक पुरुष र सप्तरीका २ जना पुरुष गरी २७ जना डिस्चार्ज भएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.( संगीता मिश्रले जानकारी दिनुभयो । प्रदेश १ मा संक्रमित भई निको हुनेको संख्या ७६ पुगेको छ ।
ओखलढुंगा र इलामबाहेक प्रदेश १ का १२ जिल्लामा संक्रमितको संख्या २ सय १ पुगेको छ । संक्रमितको उपचारका लागि सुन्दरहरैंचाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको अस्पतालमा समेत कोरोना भाइरसको संक्रमितको उपचार सेवा सुरु गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । प्रदेश १ को कोसीमा ७०, गोठगाउँमा १ सय ३५ र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय गरी ४ सय ५ शैय्याका कोरोना अस्पताल सञ्चालनमा ल्याइएको छ । देशभरबाट निको हुनेको संख्या ३ सय २० पुगेको छ ।


















