एजेन्सी- नयाँदिल्ली / जेठ २२ गते ।
भारतका रक्षा मन्त्रालयका सचिव अजयकुमारलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार अजयकुमारलाई संक्रमण पुष्टि भएपछि रक्षा मन्त्री राजनाथ सिंहलगायत अन्य अधिकारीहरू बुधबार कार्यालयमा अनुपस्थित रहे ।
‘उनको सम्पर्कमा आएकाको वृहत कन्ट्याक्ट ट्रेसिङ गरिँदैछ र साउथ ब्लकस्थित कार्यालय डिसइन्फेक्सन गर्ने काम भइरहेको छ । पछिल्ला केही दिनमा रक्षा सचिवसँग झन्डै ३० जना मानिस सम्पर्कमा आएको देखिएको छ,’ स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ ।
भारतीय रक्षा मन्त्रालय प्रवक्ता भारतभुषण बाबुले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।
रक्षा मन्त्री सिंहको कार्यालयले उनी बुधबार मन्त्रालय नआएको जानकारी दिएको छ तर उनी घरमै क्वारेन्टिनमा पनि नबसेको बताएको छ ।
अजयकुमार कोरोना संक्रमण हुने उच्च ओहोदाका पहिलो भारतीय कर्मचारी हुन्। उनलाई ज्वरो आएको छ र अरू सामान्य लक्षण पनि देखिएका छन् । संक्रमण पुष्टि भएपछि उनी घरमै क्वारेन्टिनमा बसेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
भारतमा पछिल्लो समय कोरोनाको संक्रमण तीव्र रूपमा फैलिरहेको छ । पछिल्लो २४ घन्टामा मात्रै त्यहाँ झन्डै १० हजार संक्रमित भेटिएका छन् ।
बुधबारसम्म भारतमा २ लाख १७ हजार मानिसमा कोरोना देखिएको छ भने ६ हजार ८८ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण रोक्न मार्च अन्तिम सातादेखि लकडाउन गरेको भारतले पछिल्लो समय लकडाउन खुकुलो बनाउँदै लगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !