बिरगंज ,जेठ २१ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महानगर कमिटीका अध्यक्ष रहबर अंसारीकाे नेतृत्वमा वीरगञ्जकाे मुख्य चाेकमा अर्थमन्त्रीको बिरोध गर्दै सडकमा अर्धनग्न प्रदर्शन भएकाे छ ।

सरकारले जेठ २५ गते भित्र कर नतिरे जरिवाना लिने सूचना जारी गरेपछि यसको चौतर्फी बिरोध सुरु भएको छ ।
पानी परेका बेला पनि भिज्दै उनीहरुले कपडा खोलेर अर्धनग्न विरोध प्रदर्शन गरेका हुन् । घण्टाघर चोकमा भेला भएका युवाहरुले जनता भोका भएका बेला सरकारले कर तिर्ने समय तोकेर नागरिकको ढाड सेक्ने काम गरेको आरोप लगए ।

उनीहरुले जनता भोका छन्, चुल्हो निभेको छ, अर्थमन्त्री मुर्दाबाद, बैंक ब्याज मिनाहा गर, सम्पूर्ण कर मिनाहा गर, डुबन्ते अर्थमन्त्री चाहिँदैन लगायतका नारा अंकित प्लेकार्ड बोकेका थिए ।
अर्थमन्त्री डा.युवराज खतिवडाको निर्देशनमा आन्तरिक राजश्व विभागले यही जेठ २५ गतेभित्र कर नतिरे जरिवाना गर्ने सूचना जारी गरेको थियो ।

यसको चौतर्फी बिरोध हुन थालेपछि सरकारले कर तिर्ने समय थप गरेको छ । बुधबार दिउँसो आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्मका लागि थप गरेको नयाँ सूचना जारी गरिसकेको छ ।
सरकारले दुई महिनाभन्दा बढी समयदेखि नागरिकलाई घरभित्रै थुनेर अहिले कर तिर्न उर्दी जारी गर्नु उचित नभएको भन्दै सर्बत्र यसको विरोध सुरु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !