रामचन्द्र न्यौपाने
डोल्पा,जेठ २१ गते । निजी हेलिकप्टर कम्पनीको मनोमानीका कारण शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज संरक्षणमा ठूलो चुनौती देखिएको छ । निकुञ्जको अनुमति बिनानै निजी कम्पनीका हेलिकप्टरहरु संरक्षित क्षेत्रमा निर्बाध रुपमा आवत–जावत गर्न थालेपछि संरक्षणमा चुनौती देखिएको हो । नागरिक उद्धार, यात्रु ओसार्ने वा खाद्य सामाग्री ढुवानी गर्ने निहुँमा निकुञ्ज क्षेत्रमा मनपरी रुपमा हेलिकप्टर उडाउने गर्नाले संरक्षित जडिबुटी, दुर्लभ बन्यजन्तु र गुम्बाहरुमा राखिएका बहुमुल्य मूर्तिहरु संरक्षणमा चुनौती खडा भएको निकुञ्जले जनाएको छ ।

सिम्रिक, माउन्टेन, एयर डाइनेष्ट्री, कैलाश एयर, मनाङ्ग एयर लगायतका निजी हेलिकप्टर कम्पनीले निकुञ्ज क्षेत्रमा जथाभावी उडान गर्ने गरेको निकुञ्जले जनाएको छ । “विभिन्न बहानामा काठमाण्डौ, पोखरा, नेपालगञ्ज, सुर्खेतलगायतका सहरबाट थुप्रै कम्पनीका हेलिकप्टरहरु निकुञ्जको कोर एरियामै अवतरण गर्छन्, आफ्नो व्यापार गरेर फर्किने गरेकाछन्” निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौडेलले भने ।
“निकुञ्ज स्थापना भएदेखिनै संरक्षित क्षेत्रमा निजी हेलिकप्टर कम्पनीले आफ्नो रवाफ देखाएका रहेछन्, निकुञ्जको अनुमति बिनानै आउने जाने, राजश्व नतिर्ने, निकुञ्जका कर्मचारी द्वारा जाँच नगराएरै निर्बाध आवत जावत गर्ने गरेको पाएँ ।” “निकुञ्ज जस्तो संवेदनशील क्षेत्रमा यसरी मनोमानी गर्ने हेलिकप्टर कम्पनीले दुर्लभ बन्यजन्तुको आखेटोपहार,बहुमूल्य जडिबुटी, निकुञ्ज क्षेत्रमा रहेका बहुमूल्य मूर्तिहरुलगायत सामानहरु अवैध ओसारपसार नगर्लान् भनेर भन्न सकिँदैन्” पौडेलले थपे ।
“म आएको आठ महिना भयो, आउनु भन्दा अगाडि के थियो थाहा छैन्,आइसके पछि पर्यावरण संरक्षणको सवालमा कुनै पनि कुरामा सम्झौता हुँदैन्, अपराधि उम्कदैनन्, निर्दोषी फस्दैनन् ।” बिस २०४० सालमा स्थापना भएको शे–फोक्सुण्डो निकुञ्ज विश्व मै दुर्लभ बन्यजन्तु हिँउ चितुवा, संरक्षित बन्यजन्तु नावर, घोरललगायतका बन्जन्तुको पाइने मुख्य बासस्थान हो । त्यतिमात्र नभई बहुमूल्य जडिबुटी यार्सागुम्बा पाइने सत्तरी प्रतिशत यार्सागुम्बबा पाटहरु पनि निकुञ्ज क्षेत्र भित्रै पर्दछन् । शे–फोक्सुण्डो निकुञ्ज रामसार सूचिमा पनि सूचिकृत भइसकेको छ । निकुञ्ज क्षेत्रमा एक पटक हेलिकप्टर ल्याण्ड गर्दा तीन हजार रुपैयाँ राजश्व तिर्नु पर्ने कानूनी व्यवस्था छ ।
सुकुटीसहित समातियो सिम्रिक हेलिकप्टर
२०७७ जेठ १५ गते बिहीबार शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र रहेको साल्दाङ्गका नागरिकहरु बोकेर सिम्रिक एयरको हेलिकप्टर काठमाण्डौबाट डोल्पा सदरमुकाम दुनैमा अवतरण गर्यो । दुनैमा प्रहरीलाई जाँच गराएर हेलिकप्टर उपल्लो डोल्पाको साल्दाङ्ग उड्यो । दुनैमा रहेको हेलिप्याड पनि शे–फोक्सुण्डो निकुञ्ज अन्तर्गतको मध्यवर्ती क्षेत्रभित्र पर्दछ ।
निकुञ्ज क्षेत्र र मध्यवर्ती क्षेत्रमा अवतरण गर्ने हेलिकप्टरलाई आउँदाजाँदा निकुञ्जका कर्मचारी र नेपाली सेना द्वारा जाँच गराएर मात्र उड्नुपर्ने कानूनी व्यवस्था छ । त्यतिमात्र नभई निकुञ्ज क्षेत्रमा हेलिकप्टर अवतरण गर्न पूर्व अनुमति लिनुका साथै निकुञ्जका एकजना कर्मचारीसँगै लिएर जानुपर्ने व्यवस्था पनि छ । तर, त्यो दिन सिम्रिक एयरको हेलिकप्टर निकुञ्जलाई कुनै पनि जानकारी नदिएर साल्दाङ्ग उडेको निकुञ्जले जनाएको छ । कर्मचारी संयन्त्रबाट हेलिकप्टर उडेको थाहा पाइसके पछि जाँचका लागि निकुञ्जका कर्मचारी र निकुञ्ज सुरक्षार्थ बसेको ईश्वरी बक्स गुल्मको सेनाको टोली दुनै पठाइयो ।
साल्दाङ्गबाट हेलिकप्टर नआँदै निकुञ्जको टोली हतार–हतार गरेर दुनै पुग्यो । कुनै अनुमति नलिएरै निकुञ्जको कोर एरियामा उडेको हेलिकप्टरलाई आवाश्यक सोधपुछसँगै जाँच गर्ने निकुञ्जको टोली आतुर देखिन्थ्यो । हेलिकप्टर फर्केपछि निकुञ्जको टोलीले जाँचसुरु गर्यो, हेलिकप्टरमा निगरानी गर्ने भन्दै दुनैबाट सँगै उडेका एकजना प्रहरीका इन्स्पेक्टर पनि थिए, केही सामानहरु थियो जाँचमा पुगेका एक कर्मचारीले भने ।
जाँचका क्रममा हेलिकप्टरले ल्याएको सामान खोतल्दै जाँदा आधा किलो संरक्षित बन्यजन्तुको जस्तो देखिने मासु फेला परेको निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौडेलले जानकारी दिए । त्यसपछि हेलिकप्टर ग्राउण्डमै खैलाबैला मच्चियो, निकुञ्जको टोली थप गम्भीर भएर सोधपुछमा लाग्यो । हेलिकप्टरका चालकलाई यो मासु के को हो ? कसले ल्यायो भनेर केरकार गर्न थालेपछि सोध्दा आफूले नल्याएको बताउँदै सबैका अगाडि प्रहरी हवल्दारले मासु हालेको र प्रहरी इन्स्पेक्टर पनि सँगै आएको बताए ।
“हामीले त्यतिखेर नै पाइलटलाई समातेर निकुञ्ज कार्यालय ल्याएर बयान लिने तयारी गरेका थियौँ, तर सेनाले जाँचबुझ गर्दा गर्दै यात्रु कराए भन्दै हेलिकप्टर स्टार्ट गरेर पाइलट भागे” संरक्षण अधिकृत पाैडेलले भने । त्यसपछि सेना र निकुञ्जको टोली सुलिगाड फर्कियो । जेठ १७ गते शनिवार फेरि ढाड भाचिँएको बिरामी लैजाने भन्दै सिम्रिक एयरको हेलिकप्टर दुनै पुग्यो, त्यही मौका पारेर निकुञ्जका संरक्षण अधिकृत पौडेलसहित सेनाको टोली फेरि दुनै पुग्यो र तिनै पाइलटसँग सोधपुछ सुरु गर्यो ।
“पाइलटले जेठ १५ गते गतेकै कुरा दोहोर्याएर भने प्रहरी हवल्दारले मासु हालेका हुन, त्यही हेलिकप्टरमा इन्सपेक्टरसँगै आएका छन भने यसमा मेरो के दोष ।” उनको यो बयाने क्यामेरामा समेत कैद गरिएको संरक्षण अधिकृत पौडेलले बताए । “शनिवार पनि उनलाई भिडियो बयानसँगै लिखित बयान लिने कुरा थियो तर ढाड भाँचियको विरामीको अवस्था गम्भीर भएकाले विरामीको ज्यान जोगाउन भएपनि मानवीय नाताले काजग गरेर छोड्नु पर्ने भयो” पौडेलले भने ।
निकुञ्जले बोलाएको खण्डमा हेलिकप्टर सहित जतिखेर जुनसुकै अवस्थामा पनि उपस्थित हुने गरि कागज गरेर छोडेका छौ ।” जेठ १५ गते शनिवार सिम्रिक एयरको हेलिकप्टरले डोल्पाका लागि दुई वटा उडान गरेको थियो । घटना अनुसन्धानमै रहेकाले मुद्दा छिनोफानो नहुन्जेलसम्म पाइलटको नाम भन्न नमिल्ने संरक्षण अधिकृत पाैडेलले जानकारी दिए ।
के भन्छन पाइलट
हामीले पाइलट सुरेन्द्र पौडेललाई यस विषयमा बुझ्दा आफूलाई केही पनि थाहा नभएरको र दुनैमा आइपुगेर सेनाले सामान चेक गर्दा आफूले थाहा पाएको बताए । “मेरो का हेलिकप्टरलाई कसरी सुरक्षित तरिकाले अवतरण गर्ने र गतन्तब्यमा पुर्याउने हो, हेलिकप्टर वैध वा अवैध सामान के हाल्छन भनेर जाँच गर्ने जिम्मा सुरक्षाकर्मीको हो” पाइलट पाैडेलले भने ।
“हेलिकप्टरको निगरानीका लागि दुनैबाटै प्रहरी इन्सपेक्टर आफूसँग जानुभएको हो्, साल्दाङ्गमा प्रहरी हवल्दारले पनि चेक गर्नुभएको कसरी मासु वन्यजन्तुको हो या होइन उहाँहरुले पनि हेर्नुपर्ने हो ।” “कि हेलिकप्टर उडाउने सँगै चेकजाँजको अधिकार पनि पाइलटलाई हुने भए म हेलिकप्टर रोकेरै चेक गर्थें, होइन भने सामानको चेकजाँच सुरक्षाकर्मीलेनै राम्रोसँग गर्नुपर्यो नि” उनले थपे ।
पाइलटको लिखित बयान लिइसकेपछि उक्त बयानको आधारमा प्रहरी इन्सपेक्टर र प्रहरी हवल्दारको पनि बयान लिने संरक्षण अधिकृत पाैडेलले बताए । निकुञ्ज क्षेत्रबाट उडेको हेलिकप्टरमा संरक्षित वन्यजन्तुको जस्तो सुकुटी भेटिएको डोल्पामै पहिलो घटना हो । बरामद गरिएको मासु संरक्षित वन्यजन्तुको जस्तो देखिए पनि प्रमाणित गर्नका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार काठमाण्डौं पठाउने तयारी भइरहेको निकुञ्जले जनाएको छ ।
इन्स्पेक्टर–हवल्दार मुछिएपछि के भन्छन डी.एस.पी
संरक्षित बन्यजन्तु संरक्षण गर्नु प्रहरीको पनि दायित्व भएकाले निकुञ्जको अनुसन्धानमा आफूहरुले पनि सघाउने जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले बताए । उहाँका अनुसार, ”प्रहरी इन्सपेक्टर हेलिकप्टरको निगरानीका लागि जिल्लाबाटै साल्दाङ्ग गएका हुन्, बिरामी झार्ने बित्तिकै हेलिकप्टर उडाउने गरि इन्जिनै अफ गरिएको थिएन्, हतार भएकाले बोरामा सिलायर हालेको सामान राम्रोसँग खोलेर चेक गर्न सकिएन् ।”
“दुनै पुगेर नेपाली सेनाले चेक गर्दा मासु भेटिएको हो, यसमा कसले हाल्यो के ग¥यो अनुसन्धान पछि थाहा होला, त्यसमा प्रहरी दोषी देखिए पनि कानूनी कारवाही भोग्नुपर्छ” डीएसपी रञ्जितकारले थपे ।” अब डोल्पा आउने हेलिकप्टरलाई कडाइका साथ चेक गर्न निर्देशन दिइसकेको रञ्जितकारले बताउनुभयो । सामान हालिएको र समय अभावका कारण राम्रोसँग चेक गर्न नभ्याइएको भन्ने कुरा इन्सपेक्टरले बताएको रञ्जितकारले जानकारी दिए ।
के भन्छन सिडियो
सिम्रिक एयरको हेलिकप्टरले मासु ल्याएको घटनाको विषयमा अनुसन्धान गरिरहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । बन्यजन्तु वन पैदावर संरक्षण गर्नु सबैको दायित्व भएकाले निकुञ्ज क्षेत्रमा हेलिकप्टरले मनपरी गर्न नहुने बताए । “निकुञ्ज क्षेत्रमा गृहमन्त्रालयको अनुमति लिएर तत्काल रेस्क्यु गर्नुपर्ने हुन्छ, निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडाउन आफ्नो अनुमति लिनु पर्ने निकुञ्ज बताउँछ, राज्यको बाझिँदो नीतिले कहिलेकाही निकुञ्ज र प्रशासन बीच समस्या उत्पन्न हुन्छ” प्रजिअ सुनारले भने ।
“हेलिकप्टरले बदमासी नगरुन भनेर प्रत्येक फ्लाइटमा प्रहरी पठाने गरेको छौँ, त्यतिमात्र नभई बदमासी गरे कारवाहीका लागि सिफारिश समेत गर्छौँ ।” निकुञ्ज क्षेत्रमा रेस्क्युका लागि निकुञ्जकै अनुमति लिनुपर्ने नै भए गृह मन्त्रालयले वन मन्त्रालयलाई जिम्मेवारी दिनुपर्ने प्रजिअ सुनारको भनाई छ ।
के छ कानूनी व्यवस्था
राष्ट्रिय निुकञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित बन्यजन्तुको ठहरिएमा पाँचदेखि पन्ध्र बर्ष जेल, हेलिकप्टर जफत हुने कानूनी व्यवस्था रहेको निकुञ्जले जनाएको छ ।,

(समाचार तथा फाेटाे साभार युगन्युज डटकम
फेसबुकबाट तपाईको प्रतिक्रिया !