दुर्गानन्द यादव / सप्तरी जेठ २१ गते बुधबार
। जग्गा सम्बन्धी विवादमा दुई पक्षका बीच बुधबार भएको झडपमा जिल्ला सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर – ७ स्थित हाटी टोलमा १५ जना घाइते भएका छन् । दुबै पक्ष बीचको झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले १४ सेल अश्रुग्यास समेत प्रहार गर्नु परेको छ । स्थिति नियन्त्रणमा लिन अहिले सो वडामा डिएसपी तिलक भारतीको नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

झडपमा सो वडाका जोगेन्द्र यादव, पवन साह, रमण साह, ललिता यादव, बिरेन्द्र यादव, मो. दिलसाद, मो. नजिम लगायत दुबै पक्षका गरि १५ जना घाइते भएको र उनीहरु सबैको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिए।



प्राप्त घटना विवरण अनुसार एउटै जग्गामा दुई व्यक्तिले आ–आफ्नो घरको दाबी गर्र्दै साँध छुट्ट्याउन बाँसको खाम्बो (खम्बा) गाड्न थालेपछि विवाद बढेको हो । एउटाले गाडेको खाम्बो अर्कोले उखाल्न थालेपछि विवादले उग्ररुप लिएको अनि दुबै पक्ष घरेलु हतियार लिएर एकअर्का माथि आक्रमण गर्न सुरु गरेका थिए । सोही वडा निवासी एवं जिल्ला समन्वय समिति सप्तरीका प्रमुख समेत रहेका प्रभाकर यादवले जग्गा सम्बन्धी विवाद प्रमाण हेरेर नापीका कर्मचारीसमेत ल्याएर विवाद समाधानका लागि आफूले पहल गर्ने बताएका छन् ।


