जन प्रभाब सम्बादाता / बिनोद महतो.
जनकपुरधाम, जेठ १९ गते सोमबार । अन्तत : राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीका नेताहरुले संविधान संशोधनको प्रस्ताव संयुक्त रुपमा दर्ता गराउन आज सोमबार सफल भएको छ ।
शुक्रवार नै संविधान संशोधनको प्रस्ताव दर्ता गराउन राजपा नेपालका महन्थ ठाकुर संसद सचिवालय सिंहदरबार पुगेका थिए । तर छलफल गरेर मात्रै दर्ता गर्ने भनी उनलाई सचिवालयबाट फर्काइएको थियो ।
संविधान संशोधन प्रस्ताव दर्तामा समाजवादी पार्टी एक कदम पछि हटेपछि राजपा नेपाल एक्लै प्रस्ताव दर्ता गराउन पुगेका थिए । तर आइतबार राजपाले समाजवादी पार्टीसँग छलफल गरेपछि सोमबार संयुक्त रुपमै दर्ता गरिएको हो ।
गैरसरकारी विधेयक दर्ता भएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले राजपा र सपाको संविधान संशोधनको संयुक्त प्रस्ताव संविधान संशोधन विधेयक गैरसरकारी विधेयकको रुपमा सोमवार बेलुका ५ः३० मा दर्ता भएको जानकारी दिएका छन ।
विधेयकको प्रस्तुतकर्तामा लक्ष्मण लाल कर्ण र राजेन्द्र श्रेष्ठ रहेको राजपाका नेता केशव झाले जानकारी दिए । सरकारले नयाँ नक्सा अनुरूप निशान छाप परिवर्तन गर्न संविधान संशोधन विधेयक अगाडि बढाएलगत्तै समाजवादी र राजपाले पुरानो संविधान संशोधनको माग अघि सारेर संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
यसअघि उक्त विधेयक २०७४ साल बैशाख ११ गते तत्कालिन शेरबहादुर देउवा नेतृत्वको सरकारमा दर्ता भएपनि दुईतिहाई नपुगेकाले संशोधन हुन पाएको थिएन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !