सुनसरी,जेठ १८ गते आइतबार । जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको ज्यान लिएको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी बराहक्षेत्र इक्राहीका २२ वर्षीय गणेश लिम्बू र १९ वर्षीय प्रदीप राजधामीलाई ज्यान मारेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
शुक्रबार सुनसरी बराहक्षेत्र–३ इक्राही जमुना कित्तास्थित प्लटिङ जग्गामा कमल राईको मृतास्थामा शव फेला परेको थियो ।
शरीर तथा टाउकोमा चोटसहित शङ्कास्पद अवस्थामा मृत फेला परेका कमलको घटना सम्बन्धमा अनुसन्धान गर्दा उनको ज्यान मारिएकाे प्रहरीले जनाएको छ । ज्यान लिएकाे पुष्टि भएसँगै अनुसन्धान थालेको प्रहरीले कमलको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताए ।
नियन्त्रणमा परेका दुवैले पूर्व रिसइबीका कारण योजनाबद्धरूपमा कमललाई प्लटिङ जग्गामा लगेर लाठीले टाउको तथा शरीरका संवेदनशील अङ्गमा हातपात गरी ज्यान मारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
फेसबुकबाट तपाईको प्रतिक्रिया !