काठमाडौं ,जेठ १७ गते शुक्रबार । कोरोना भाइरस (कोभिड-१९) को कारण बन्द रहेको अन्तराष्ट्रिय उडानहरु पाकिस्तानले सुरु गरेको छ। पाकिस्तानले शुक्रबार रातिदेखि अन्तराष्ट्रिय उडान सुरू गरेको हो । पाकिस्तान सरकारले कोरोना भाइरस संक्रमणका कारण यसको नियन्त्रण गर्न नियमित गतिविधिमा पनि रोक लगाएको थियो । तर शुक्रबारदेखि अन्य नियमित गतिविधिहरुमा पनि खुकुला पार्ने नीति लिएको छ । उक्त निर्णयसँगै अन्तराष्ट्रिय उडानहरुमा लगाएको प्रतिबन्ध पनि शुक्रबार रातिदेखि नै फुकुवा गरेको बताएको छ ।
पाकिस्तान नागरिक उड्डयन प्राधिकरणले शुक्रबार एक सूचना जारी गरेर सो जानकारी दिएको थियो र सोही बमोजिम शुक्रबार रातिबाट उडान सुरु भएको हो । प्राधिकरणले देशभित्रका आन्तरिक उडानहरुलाई पनि विस्तारै विभिन्न चरणमा गरी यसअघि नै सुरू गरिसकेको छ ।
पाकिस्तान सरकारको निर्णयअनुसार पाकिस्तानबाट हुने अन्तराष्ट्रिय उडानहरू शुक्रबार राति ११ः५९ पछि सुरू भएकाे जनाइएको छ । पाकिस्तानबाट विदेशका लागि हुने उडानका लागि आवश्यक प्रक्रिया सरकारले पहिले नै तोकेको थियो । पाकिस्तानबाट गरिने विदेशी उडानहरुका लागि विमान कम्पनीहरूले गन्तव्य देशको नियमलाई पालना गर्नुपर्ने गरी नियम बनाइएको छ ।
हरेक विमानलाई उडान सुरु गर्नुपूर्व स्यानिटाइज गर्ने तथा विमानस्थलमा भिडभाड नगर्नेलगायतका स्वास्थ्यसम्बन्धी सुरक्षाका मापदण्डहरु अपनाउनुपर्ने नियम पाकिस्तानका उड्डयन अधिकारीहरुले बनाएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !