म्याग्दी ,जेठ १६ गते शुक्रबार । नेपाल सरकारले उत्तरी चीनसँग सीमा जोडिएको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ नेचुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट(बीओपी) शुक्रबार स्थापना गरेको छ । कोरला नाकाभन्दा करिब १२ किलोमिटर तल सरकारले बीओपी स्थापना गरेको हो ।
सशस्त्र प्रहरी बलका एआईजी नारायणबाबु थापा र गण्डकी प्रदेशसभा सदस्य इन्द्रधर विष्टले बिहीबार संयुक्त रुपमा बीओपी स्थापना गरेका हुन् । चीनसँग मुस्ताङको १३४.१६ किलोमिटर सीमा जोडिएको छ ।
‘बिहीबारदेखि चीन सीमावर्ती कोरला नाका नजिकै क्वारेन्टाइन कार्यालयमा सशस्त्र प्रहरी बलको बीओपी स्थापना भएको छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले भने, ‘कोरला नाकामा सवै पूर्वाधार नबन्दासम्म बीओपी नेचुङमै रहने छ । जग्गा प्राप्ति भइसकेकोले छिट्टै पूर्वाधार निर्माण सुरु होला ।’
नेचुङमा रहने सीमा सुरक्षा पोस्ट स्थापना गर्न सदरमुकाम जोमसोमस्थित ३३ नम्बर गुल्मबाट २० जना प्रहरी राखिएको छ । नेचुङ्गस्थित भन्सार तथा क्वारेन्टाइन कार्यालयको भवनमा दुई कोठा छोडेर बाँकी कोठामा सशस्त्र प्रहरी राखिएको छ ।
सरकारले भारत र चीनको सीमा जोडिएका १ सय २२ स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरेको छ । सरकारले गत वैशाख ३१ गते दार्चुलाको छाङरुमा सशस्त्र प्रहरीको १०७ औं सीमा निगरानी चौकी (बीओपी) स्थापना गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !