काठमाडौं , जेठ १५ गते बिहिवार । जसपा नेतृत्वको विवाद टुंगो लगाउन तत्कालीन समाजवादी पार्टी नेपालले गरेको प्रस्ताव अस्वीकृत भएको छ । गत १० वैशाखमा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीबीच एकीकरण भएको थियो । पार्टी एकीकरण भएको एक महिना बित्दासमेत एकीकृत पार्टीको अध्यक्ष को हुने भन्ने विषयमा विवाद भएको छ ।
तत्कालीन समाजवादीका तर्फबाट केन्द्रीय समितिको अध्यक्षमा उपेन्द्र यादव र संघीय परिषद्को अध्यक्षमा डा. बाबुराम भट्टराईलाई राख्ने प्रस्ताव तत्कालीन राजपा नेपाल नेतृत्वले अस्वीकार गरेको हो ।
राजपा नेपालले केन्द्रीय समितिको अध्यक्षमा पूर्वसहमतिअनुसार महन्थ ठाकुर नै रहने जनाएको छ । संघीय परिषद्को अध्यक्षमा बाबुराम वा उपेन्द्रमध्ये कसलाई राख्ने, त्यसको निर्णय गर्ने अधिकार समाजवादी पाटीलाई नै रहेको जवाफ राजपा नेपालले समाजवादी पार्टीको नेतृत्वलाई पठाएको जसपा स्रोतले जनाएको छ ।
‘समाजवादी पार्टीले केन्द्रीय समिति र संघीय परिषद्को अध्यक्षमा आफ्नै दलबाट राख्न खोजेका छन्,’ जसपा स्रोतले भन्यो, ‘तर राजपा नेपालले केन्द्रीय समितिको अध्यक्षमा पूर्वसहमतिअनुसार महन्थ ठाकुर र संघीय परिषद्को अध्यक्षमा समाजवादीले पठाएको नेता रहने जवाफ दिएको छ ।’
हतारमा पार्टी एकीकरण भएपछि अहिले एकीकृत पार्टी जसपामा नेतृत्वको विवाद देखिएको छ । पार्टी एकीकरणअघि केन्द्रीय समितिको अध्यक्षमा ठाकुर र संघीय परिषद्को अध्यक्षमा डा. भट्टराई रहने सहमति भएको थियो । अन्य नेताको व्यवस्थापन समानताका आधारमा गर्ने सहमति पार्टी एकीकरण गर्ने समयमा भएको थियो ।
तर, अहिले आएर महŒवपूर्ण भनिएको केन्द्रीय समिति र संघीय परिषद् अध्यक्षमा समाजवादीले दाबी गरेपछि नेतृत्वको टुंगो लाग्न नसकेको हो । पार्टी एकीकरणयता पटक पटक शीर्ष नेताहरूको बैठक भए पनि नेतृत्वको टुंगो लगाइएको छैन ।
तर, केन्द्रीय समितिको अध्यक्षमा राजपाले महन्थ ठाकुरलाई अघि सारेको छ भने समावादीले यादवलाई बनाउन प्रस्ताव गरेको छ । नेतृत्वमै विवाद भएपछि एकीकृत पार्टीको सांगठनिक संरचना एवं एकीकरण प्रक्रिया स्थगित भएको जसपा स्रोतले जनाएको छ ।
जसपाका एक नेताका अनुसार एकीकृत पार्टीको अध्यक्षमा तत्कालीन दुवै पार्टीको दाबी भएकाले एकीकरण प्रक्रिया अहिले स्थगित भएको छ । नेतृत्वको टुंगो आन्तरिक सहमतिबाट लगाउँदै पार्टी एकीकरण घोषणा भएको थियो ।
पार्टी एकीकरणपश्चात् चार सदस्यीय विधान एवं घोषणपत्र मस्यौदा समिति गठन भएको थियो । राजपाबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला र समाजवादीबाट राजेन्द्र श्रेष्ठ, नवराज सुवेदी सदस्य रहेका थिए । यो समितिले केन्द्रमा विभिन्न ११ वटा सांगठनिक संरचना रहने गरी विधान निर्माण गरेको थियो ।
राष्ट्रिय महाधिवेशन, संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय राजनीति समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय सल्लाहकार समिति, संघीय संसदीय दल, केन्द्रीय विज्ञ परिषद्, केन्द्रीय निर्वाचन आयोग, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखापरीक्षण आयोग रहने प्रस्ताव विधानमा गरिएको छ ।
संघीय परिषद्को अध्यक्षमा डा. भट्टराई र केन्द्रीय समितिको अध्यक्षमा यादवलाई राख्नुपर्ने प्रस्ताव समाजवादीले गरेको छ । तर, पूर्वसहमतिअनुसार राजपाले केन्द्रीय समितिको अध्यक्षमा ठाकुरलाई नै राख्नुपर्ने अडान लिएको छ ।
राजपाबाट ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी र महेन्द्रराय यादव तथा समाजवादीबाट भट्टराई, यादव, अशोक राई र राजेन्द्र श्रेष्ठले नेतृत्व, विधानलगायतका समस्या समाधान गर्दै टुंगो लगाउने जिम्मेवारी पाएका छन् । यी आठ नेताले पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गरेका थिए । पार्टी एकता सहमति पत्रमा नेताहरूको व्यवस्थापन, नेतृत्वलगायतका विषय समानताका आधारमा टुंगो लगाउने उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !