जन प्रभाब / २०७७ जेठ १३ गते ।
एजेन्स : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मलेरियाका बिरामीमाथि प्रयाेग हुने औषधि ‘हाइड्रोक्सीक्लोरोक्वाइन’ लाई काेभिड-१९ (काेराेना भाइरस) का बिरामीमाथि प्रयाेग नगर्न भनेकाे छ ।
अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले खुलेआम उक्त औषधि सेवन गरिरहेकाे बताएका थिए र उनले आफ्ना नागरिकलाई समेत प्रयोग गर्न सिफारिस गर्दै आएका छन् । तर एक अध्ययननले हालै मात्र साे औषधिले काेराेना संक्रमित निकाे हुनुकाे सट्टा मृत्युकाे सम्भावना बढाएकाे र हृदय राेग समेत बढ्ने निष्कर्ष निकालेकाे थियाे । साइन्स जर्नल ‘लासेन्ट’मा साे अध्ययन प्रकाशित भएपछि डब्ल्यूएचओले पनि उक्त औषधिकाे क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको छ ।
डब्ल्यूएचओका निर्देशक डा. टेड्रोस एडहानम ग्याब्रियासिसले सोमबार औषधिको सुरक्षित प्रयोगबारे डाटा सेफ्टी मोनिटरिङ बोर्डले अध्ययन गर्ने जानकारी दिए । साथै, यो औषधिसँग सम्बन्धित संसारभरि भइरहेका प्रयोगको पनि व्यापक विश्लेषण गरिने उनले बताए । हाल याे औषधि अमेरिकामा मात्र नभएर भारतलगायत अन्य देशमा पनि काेराेनाविरूद्ध प्रयाेग गरिँदै आएकाे छ । भारतमा नै यस अाैषधिकाे ठूलाे उत्पादन हुन्छ ।
डा. टेड्रोसले पनि साधारणतया हाइड्रोक्सीक्लोरोक्वाइन र क्लोरोक्वाइनको प्रयोग मलेरिया रोगजस्ता अटोइम्युन बिरामीमा प्रयोग हुने बताएका छन् । उनले कोरोनाका बिरामीमा यो औषधिको सुरक्षित प्रयोगबारे भने चिन्ता व्यक्त गरेका छन् । उनले एक साइन्स जर्नल ‘लासेन्ट’मा हालै प्रकाशित अध्ययनको कुरा गर्दै कोरोना संक्रमितको उपचारमा जहाँ हाइड्रोक्सीक्लोरोक्वाइन औषधी प्रयोग गरिएको छ, त्यहाँ मृत्युको खतरा धेरै भएको बताएका छन् ।
उक्त अध्ययन प्रकाशित भएपछि शनिबार विश्व स्वास्थ्य संगठनको सोलिडेरिटी ट्रायल (डब्ल्यूएचओको निगरानीमा भइरहेको कोभिड–१९ क्लिनिकल ट्रायल) को एक्सिक्युटिभ ग्रुपको एउटा बैठक बसेर तत्काल यस औषधि प्रयाेगमा अस्थायी राेक लगाउने बारे निर्णय गरेकाे थियाे ।
१० सदस्य देशको प्रतिनिधि भएका यो समूहले बैठकपछि यस औषधीसँग जोडिएको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा स्थगित गर्ने निर्णय गरेको र यसबारे थप अध्ययन, अनुसन्धानमा जाेड दिइने उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !