रौतहट , जेठ ८ गते बिहिवार । रौतहट जिल्लाको इशनाथ नगरपालिकाको परोहा डुमरीयाबाट प्रहरीले करिब १० लाख १० हजार रुपैयाँ बरामद गरेको छ । ना ५४ प २११६ नम्बरको मोटरसाइकललाई इशनाथ नगरपालिका कार्यालय अगाडि गस्तीमा रहेको प्रहरीले रोक्न खोजे पछि भागेको थियो ।
मोटरसाइकललाई पछ्याउँदै जादा डुमरीया माइस्थान चोक सँगै रहेको पोखरीको छेउमा मोटरसाइकल छोडेर त्यसमा सवार रहेका दुई जना भागेको र पोखरीको डिलमा पैसा छरिएको अवस्थामा प्रहरीले फेला पारेको इशनाथ नगरपालिकाका प्रमुख सन्तोष मेहताले बताए ।
बरामद गरिएको रकम १० लाख १० हजार रहेको छ । बरामद भएको सो रकम औरैयाका प्रहरी सहायक निरीक्षक ललित कुमार साहले नगर प्रमुखको घरमा लगेर रोहवरमा गन्न लगाएका थिए । बरामद भएको रकम र मोटरसाइकल प्रहरी चौकी औरैयामा राखिएको छ ।
फरार भएका व्यक्तिहरुको पहिचान हुन सकेको छैन । भारतसँग सिमा जोडिएको रौतहटका औरैयाबाट ठूलो परिमाणको रकम बरामद हुनुले यो क्षेत्रमा हुण्डी कारोबार मौलाएको देखिएको छ । बरामद भएको रकमबारे रौतहट प्रहरीले प्रतिक्रिया दिन चाहेन ।

















