काठमाडौं , जेठ ७ गते बुधबार । नेकपा क्रान्तिकारी माओवादीले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) चोर दुलोबाट संसदद्वारा पारित गराउने धृष्टता भइरहेको बताएको छ। सो पार्टीका महासचिव मोहन वैद्य किरणले मंगलबार एक विज्ञप्ति जारी गर्दै ओली सरकारको यो कदमको घोर विरोध गरेका छन् ।

‘ओली सरकारले एमसीसी सम्झौतामा उल्लिखित लप्सीफेदी–रातमाटे–हेटौडा, लप्सीफेदी–रातमाटे–दमौली–बुटवल तथा बुटवल–गोरखपुरको ४०० के. भी. प्रसारण लाइनको निर्माण कार्यलाई नेपाल सरकारको नीति तथा कार्यक्रम ०७७÷०७८को बुँदा नं २१० र २११मा समावेश गराई चोर दुलोबाट एमसीसीलाई संसदद्वारा पारित गराउने धृष्टता गर्दैछ’, विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी ओली सरकारको यो कदमको घोर विरोध एवम् भत्र्सना गर्दछ ।’
विज्ञप्तिमा राष्ट्रिय स्वाधीनतामाथि गम्भीर आँच पुर्याउने एमसीसी संझौतालाई स्वीकृति दिने गरी सरकारको नीति तथा कार्यक्रमलाई पारित नगर्न पनि माओवादीले प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सम्पूर्ण सांसदहरु समक्ष अनुरोध गरेको छ ।
एमसीसी अमेरिकी सैन्य रणनीतिको हिस्सा भएको र यो नेपालको राष्ट्रिय स्वाधीनताका विरुद्ध भएको माओवादीको ठहर छ ।
यसैबीच वैद्यको विज्ञप्तिमा लिम्पियाधृुरा, कालापानी, लिपुलेक समेतलाई समेटेर नयाँ नक्सा बनाएर सार्वजनिक सरकारको निर्णयको स्वागत गरिएको छ ।


















