जनकपुर, जेठ ६ गते मंगलवार ।
प्रदेश २ मा कोरोना भाइरस संक्रमण भयावह रुप लिनथालेपछि प्रदेश सरकारले ३ सय ५ वटा आइसोलेशन बेड थप्ने निर्णय गरेको हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण प्रदेश स्तरीय निर्देशन एवं समन्वय समितिको मंगलवार बसेको बैठकले सो निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अनुसार हाल संचालनमा रहेको कोरोना अस्पतालको आइसोलेशन बेडका अतिरिक्त विभिन्न जिल्लाका अस्पतालहरुमा आइसोलेशन बेड थप गरिनेछ ।
सिरहा अस्पतालमा ५० बेड , सिरहा अस्पतालको मातहतमा रहने गरि महेन्द्र गेनाइ अस्पतालमा ३० बेड, गौर अस्पतालको मातहतमा रहने गरि गौर नरसिंह इन्स्टिच्युटमा ३० बेड, पोखरिया अस्पताल पर्सामा २५ बेड, भारदह अस्पतालमा सप्तरीमा ५० बेड, मलंगवा अस्पतालको मातहतमा रहने गरि अन्त अल्पमाई रामनारायणयादव नर्सिंग कलेजमा २५ बेड, गजेन्द्र नारायण सिंह अस्पताल राजविराजको मातहतमा रहने गरि साइकृष्ण मेडिकल हातामा ५० बेड र बर्दीवास अस्पतालमा ५० बेड थपिने बताइएको छ ।
बैठकले प्रदेशमा जारी कोरोना परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउन सम्बन्धित पक्षलाई निर्देशन दिने एवं आइसोलेशन तथा क्वारेन्टाइनमा रहेका संक्रमित एवं शंकास्पदहरुको खाना तथा खाजाको प्रदेश स्तरीय एउटै मापदण्ड बनाएर उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
यस्तै रियल टाइम पिसिआर ल्याब स्थापना तथा संचालनका लागि आवश्यक सुझाव सल्लाह, प्राविधिक सहयोग र समन्वय तथा सहजीकरणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौका पूर्व निर्देशक डा। राजकुमार महतोलाई विज्ञ सल्लाहकारमा नियुक्त गर्ने समेत निर्णय गरेको छ ।


