सिरहा, जेठ १ गते बिहिवार । कोरोना संक्रमण जोखिम न्यून गर्न लकडाउनलाई सशक्त बनाइरहेको फोटो खिचेका सिरहाका संचारकर्मी बद्री नारायण यादवलाई नेपाली सेनाले सिरहा सदरमुकाम स्थितमा कुटपिट गरेका छन् ।
सिरहा सदरमुकामस्थित चन्द्र माध्यमीक विद्यालयको दक्षिणतर्फको सडकमा बुधबार ११ः३० बजे नेपाली सेनाको एक टोलीले लकडाउन उल्लघंन गर्नेमाथि कारबाही गरिरहेको फोटो खिचेपछि खटिएको टोलीका कमाण्डरले बोलाएर कुटपीट गरेको पीडित सञ्चारकर्मी यादवले बताए ।
‘विद्यालयको दक्षिणतर्फ रहेको मूल सडकमा भीडभाड जम्मा भइरहेको थियो, त्यहाँ नेपाली सेनाको टोली आएर मानिसको भीडभाडलाई तितरबितर गर्दै लकडाउन पालना गराइरहेको देखियो’, पीडित सञ्चारकर्मी यादवले भने,‘लकडाउनलाई कडाई पार्न सुरक्षा अङ्गले गरेको भूमिकालाई चित्रण गर्न मैले फोटो खिंचे तर सेनाको फोटो किन खिंचेको भन्दै कमाण्डरले बोलाएर मलाई पाइपले कुटपीट गर्न थाले ।’
सैनिक कमाण्डरले बोलाउँदा आफूले पत्रकारको परिचयपत्र समेत देखाएको उल्लेख गर्दै पत्रकार हो भन्दै जानीजानी कुटपीटपछि आफूलाई केही बेर घाममा समेत उभ्याएर यातना दिएको पीडित सञ्चारकर्मी यादवले गुनासो गरे । ‘सेनाको फोटो खिच्न पख अहिले नै सिडियो र मेयरलाई बोलाएर कारवाही गर्छु’ भन्दै सेनाले थर्काएको पिडित संचारकर्मी यादवले जनाए ।
सेनाबाट कुटिएका सञ्चारकर्मी यादव नेपाल पत्रकार महासघं सिरहाका कार्यकारिणी सदस्य तथा नवजागृति साप्ताहिकका कार्यकारी सम्पादक हुनुहुन्छ । यादवमाथि कुटपीट गर्ने सैनिक कमाण्डर तथा टोलीलाई कारबाही गर्न महासघं सिरहा शाखाले विज्ञप्ती प्रकाशित गर्दै माग गरेको छ ।
‘कोरोना भाइरसको संक्रमण बढिरहेको बेला लकडाउनलाई प्रभावकारी बनाउन नेपाली सेनाको कार्य सकारात्मक हो र लकडाउनलाई प्रभावकारी बनाउन सूचना सङ्कलन तथा सम्प्रेषण गर्ने सञ्चारकर्मीको कार्य पनि उत्तिकै महत्वपूर्ण हो’, सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा भनिएको छ–यस्तो अवस्थामा जुनसुकै पक्षले प्रेस स्वतन्त्रतामाथि हमला गर्ने कार्य निन्दनीय हो, त्यसैले सञ्चारकर्मी यादवमाथि कुटपीट गर्ने र शारीरिक यातना दिनेलाई कारबाहीको दायराभित्र ल्याउनुपर्छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी (सिडियो) सरोज गुरागाईंले सञ्चारकर्मीमाथि भएको उक्त घटना दुखदायी भएको उल्लेख गर्दै यस सम्बन्धमा चोहर्वास्थित बहादुर श्री शेर गणका गणपतिसँग कुराकानी गरेको र उहाँले यसबारेमा अनुसन्धान गरिने जानकारी दिनु भयो ।



















