जन प्रभाब-सम्बादाता / २०७७ बैशाख ३० गते .
काठमाडौँ । गृह मन्त्रालयले आज मंगलवार एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गर्ने निर्णय गरेको छ ।
मुलुकमा कोरोना(कोभिड–१९) भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भन्दै गृहले मङ्गलवार दिउँसो यो निर्णय गरेको हो । मङ्गलवार मात्रै ५७ जना कोरोना सङ्क्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।
गृह मन्त्रालयका उप-सचिव एवं सूचना अधिकारी उमाकान्त अधिकारीले प्रशासनलाई भने, ‘बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको हो ।’ अधिकारीका अनुसार उपत्यकामा कार्यरत सरकारी कर्मचारीको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।
उपत्यकास्थित तीन जिल्लाको हकमा भने उक्त नियम लागू हुने छैन । उपत्यकाभित्र आवागमन गर्न जारी गरिएका पासले उपत्यका बाहिर जान भने पाइने छैन । गृह मन्त्रालयले निर्णय कडाइका साथ पालना गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय, सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन समेत दिई सकेको जानकारी दिनु भयो ।
यसअघि सरकारी कर्मचारी, बैङ्क तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवा लगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्न थालेसँगै बढेको भिडभाड पछि मन्त्रालयले यस्तो निर्णय गरेको अधिकारीको भनाई छ ।
सञ्चार कर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !