जनकपुर ,बैशाख २९ गते सोमबार । तराई मधेश राष्ट्रिय दैनिकका प्रकाशक पवन यादवलाई कुटपिट गर्ने समूहका एक जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर–३ स्थित भवानीपुरका छोटे मन्सुर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । मन्सुरलाई घरबाट पक्राउ गरिएको हो भने बाँकी तीनजनाको खोजी भइरहेको उहाँले बताउनुभयो ।
पक्राउ परेका मन्सुरमाथि कुटपिट मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ ।
पत्रकार यादवलाई कलैयाको भरतचोकस्थित पत्रिकाको कार्यालयबाट काम सकेर घर जाने क्रममा आइतबार बेलुका कलैया पिलुवा सडकखण्डअन्तर्गत अवधापुरमा चार जनाको समूहमा रहेका व्यक्तिले कुटपिट गरेक थिए ।
कलैया उपमहानगरपालिका–२ अवधापुरस्थित हनुमान मन्दिरका पुजारी किशोरी दासलाई राति साढे ८ बजे चार जनाले अपशब्द प्रयोग गरिरहेको अवस्थामा सम्झाउन जाँदा उनीहरुले आफूलाई कुटपिट गरेको पत्रकार यादवको दावी छ ।
पत्रकार यादवले भन्नुभयो, ‘गाँजा पक्रन लगाउने यिनै पत्रकार रहेको भन्दै पिट्न थालेको र नजिकै रहेका घरका महिलाले मेरो ज्यान बचाए ।’ टाउकोमा हेलमेटलगाएका कारण आफू ठूलो क्षति हुनबाट जोगिएको उहाँको भनाइ छ ।
यसैबीच पत्रकार यादवमाथि भएको सङ्घातिक घटनाको नेपाल पत्रकार महासंघ बारा, नेपाल प्रेस सङ्गठन र नेपाल प्रेस युनियनले छुट्टाछुट्टै विज्ञप्ति निकालेर घटनाको घोर भर्त्सना गर्दै दोषीमाथि कडा कारबाही, उपचार र क्षतिपूर्तिको माग गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !