काठमाडौं ,बैशाख २८ गते । नेपाल पत्रकार महासंघले वीरगन्जस्थित नयाँपत्रिका दैनिकका सम्वाददाता एवं सामुदायिक रेडियो नारायणी एफएममा कार्यरत पत्रकार तिवारी यादवलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वीरगन्जको लिंकरोडस्थित एफएम स्टेशनको प्रवेशद्वार नजिकै सडकपेटीमा मोटरसाइकल पार्किङ गरेको निहुँमा आइतबार प्रहरीले पत्रकार यादवलाई लछारपछार गर्दै एफएम स्टेशनकै प्रवेशद्वारबाट पक्राउ गरी प्रहरी भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको आइतबार महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मोटरसाइकल पार्किङ गरेकै बहानामा स्वतन्त्र रुपमा काम गरिरहेका पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको ज्यादती हुनुका साथै प्रचलित कानुनको समेत उपहास भएको महासंघको ठहर छ । विज्ञप्तिमार्फत महासंघले प्रहरी ज्यादतीको कडा शब्दमा भत्र्सना गरेको छ ।
घटनामा संलग्न प्रहरीमाथि कारबाही गर्न र पक्राउ परेका पत्रकारलाई अविलम्ब रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा भयरहित पत्रकारिता गर्ने वातावरण निर्माण गर्न महासंघले सम्बन्धित निकायसँग माग गरेको महासचिव विष्टले जनाएका छन् ।

















