काठमाडौं,बैशाख २३ गते । प्रदेश नम्बर -१ को विराटनगरस्थित जोगवनी भन्सारबाट सशस्त्र प्रहरीले एक करोड नौ लाख भारतीय रुपैयाँसहित २ जनालाई मंगलबार पक्राउ गरेको छ।
एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट मंगलबार दिउँसो एक करोड नौ लाख ७९ हजार ५ सय भारतीय रुपैयाँसहित दुईजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका उपरीक्षक नेत्र कार्कीले बताएका छन्।
उनका अनुसार पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला, सिलिगढी गंगानगर-५ का २४ वर्षीय चालक रवीन्द्र शर्मा र भारतकै बिहारको महजपुर जिल्ला, रौतिमिया वडा नं १२ का १८ वर्षीय पप्पु कुमार छन्।
नाकामा भारतबाट प्रवेश गरेको डब्लूबी ७३ ई ७६३५ खाली गाडी चेकजाँच गर्ने क्रममा बोराभित्र राखेको उक्त रकम भेटिएको हो। खाली गाडीमा गुट्खाको र्यापरले बेरेर लुकाएर ल्याइएको अवस्थामा उक्त रकम बरामद भएको हो।
सामान नलिइ आएको उक्त ट्रक भारतीय पक्षले चेकजाँच नगरी नेपाल प्रवेशको अनुमति दिएको थियो। नेपालमा जाँच गर्दा बोराभित्र राखेको उक्त रकम बरामद भएको कार्कीले बताएका छन्। उक्त रकम हुण्डी कारोवारीले ल्याएको हुनसक्ने बताइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !