नेपालगञ्ज,बैशाख २३ गते । बाँकेको नेपालगञ्जमा मंगलबार बिहान प्रहरी र स्थानीयबीच झडप भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले गरेको निषेधाज्ञा स्थानीयले उल्लंघन गरेपछि प्रहरीले बल प्रयोग गर्दा झडप भएको हो ।
निषेधित क्षेत्रको पालना नगर्ने स्थानीयलाई सम्झाउन खोज्दा नमानेकाले बल प्रयोग गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निषेधित क्षेत्रको पालना गराउन हिँडेका सुरक्षाकर्मी चढेको बा १ झ ८२८४ नम्बरको गाडीमा स्थानीयले तोडफोड गरेका छन् ।
झडपमा परेर दुई जना स्थानीय घाइते भएका छन् । बिस्कोरियन टोल त्रिवेणी मोडनिर रहेको संजय किराना स्टोर्सका संचालक ५७ वर्षीय शिव कुमार बानियालाई प्रहरीले कुटपिट गरेपछी झडप भएको स्थानीयको भनाइ छ ।
झडपपछि सुरक्षा सतर्कता बढाइएको छ । मंगलबार बिहान ११ बजेदेखि २५ गतेराती १२ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र आवश्यक स्वाब परीक्षणमा संलग्न जनशक्तिबाहेकलाई घर बाहिर निस्किन पनि रोक लगाइएको छ ।
निषेधाज्ञा कार्यान्वयन गराउनेक्रममा सडक यात्रुलाई तितरवितर गर्न त्रिवेणी मोडमा खाद्यान्न पसल गर्दै आएका रवि गुप्ताले पसल खोल्न पाउनुपर्ने भन्दै एक्कासि प्रहरीमाथि हातपात गरेका थिए । प्रहरीले उनीमाथि सामान्य बल प्रयोग गरेर नियन्त्रणमा लिएको बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
बजार बन्द गराउनेक्रममा प्रहरीमाथि हातपात गर्ने व्यापारी गुप्तालाई नियन्त्रणमा लिएर घटनाका बारेमा सोधपुछ गरिएको प्रहरी प्रवक्ता सिंहले बताए । स्थानीय प्रशासनले उपमहानगरपालिका क्षेत्रलाई मंगलबार बिहान ११ बजेदेखि यही वैशाख २५ गते मध्यरातसम्म (तीन दिन) का लागि पूर्णरुपले निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।
निषेधाज्ञा अवधिमा सुरक्षा र स्वास्थ्यकर्मी, स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्णरुपमा रोक लगाइएको छ । आफ्नो क्षेत्र सुरक्षित गर्ने बहानामा कुनै किसिमले बाटो छेक्ने र राजमार्ग रोक्ने कार्य कोही कसैबाट गर्न नपाइने र त्यस प्रकारको कार्य गरेमा कानूनी कारवाहीसमेत गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।
सामाजिक तथा धार्मिक सद्भावमा आँच आउने र खलल पर्ने सामग्री प्रकाशन, प्रसारण र पोष्ट गर्ने व्यक्तिको पहिचान गरी तत्काल कानूनी दायरामा ल्याइने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । नेपालगञ्जमा शुक्रबार, आइतबार र मंगलबार गरी २३ जनामा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकालाई निषेधित क्षेत्र घोषणासँगै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !