काठमाडौं,बैशाख २० गते । कोरोना भाइरस ९ कोभिड १९ ० को उपचारमा सक्रियरुपमा अग्रपंक्तिमा देखिएका पाँच महिलाको सूचीमा केन्द्रीय प्रयोगशालाकी निर्देशक डा रुना झा पनि छनोटमा पर्न सफल भएकी छन् ।
युएन ओमनले कोरोना भाइरसको अग्रपंक्तिमा खटिइरहेका विश्वका पाँच महिलाको सूची अन्तर्गत जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा। रुना झालाई समावेश गरेका छन् । कोरोना भाइरसले विश्व समुदायलाई त्रसित बनाइरहेको छ ।
२ लाख बढिले ज्यान गुमाइसकेका छन् भने ३४ लाख बढी संक्रमित छन् । यसको न्यूनीकरण र संक्रमितको उपचारमा विश्वभर लाखौं चिकित्सक खटिएका छन् । अहिलेको समयमा घर, परिवार र भाइरसको जोखिमको परवाह नगरिकन खटिएका चिकित्सकबाट झण्डै २ लाख निको भएर घर फर्किसकेका छन् ।
त्रास यतिसम्म छ कि सामान्यतया स्वास्थ्यकर्मी पनि संक्रमित व्यक्तिको उपचार गर्न त्यति सहजै तयार हुन सक्ने हिम्मत गर्दैनन् । चीनमा कोरोनाकै कारण स्वास्थ्यकर्मीको निधन समेत भएको खबर सार्वजनिक भएको थियो । कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण छ कि छैन भनेर स्वास्थ्यकर्मीले प्रयोगशाला (ल्याब) मा ती व्यक्तिबाट संकलित नमूना परीक्षण गर्नुपर्छ ।
ल्याब परीक्षण विना कोरोना भाइरसबारे यकिन हुँदैन । हाल नेपालमा कोरोना भाइरस भए नभएको यकिन गर्ने विश्वासिलो स्थान बनेको छ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं । त्यो ल्याबको नेतृत्वमा छिन, महिला चिकित्सक डा. रुना झा । उनै झा अहिले विश्वका पाँच महिलाको सूचीमा समावेश भएकी छन् । चीनको वुहान प्रान्तबाट उद्धार गरिएका १ सय ७५ जना नेपालीसहित अन्य व्यक्तिको स्वास्थ्य नमूना परीक्षण झाकै नेतृत्वको ल्याबमा भएको थियो ।
त्यसयता, हरेक दिन ७० भन्दा बढी स्वाबको परीक्षण झा नेतृत्वको टोलीले गर्दै आएको छ । धनुषाको हंशपुर नगरपालिकाको बघचौरा गाउँका धनञ्जय झाकी छोरी हुन् डा. रुना झा । पाकिस्तानबाट एमबीबीएस र नेपालकै इन्स्टिच्यूट अफ मेडिसिनबाट प्याथोलोजीमा एमडी गरेकी उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लामो समय प्राध्यापन गरिन् ।
साढे ४ वर्षअघि स्वास्थ्य मन्त्रालयमा निजामती सेवाको परीक्षा उत्तीर्ण गरेर ११ औं तहमा नियुक्त भएकी थिइन् उनी । विगत १० महिनादेखि उनी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक पदमा कार्यरत रहेर संस्थाको ‘हाकिम’को भूमिका सम्हालिरहेकी छन् । उत्कृष्ट पाँचमा पर्ने अन्य महिलामा संयुक्त राष्ट्रसंघका फिल्ड एसिसटेन्टद्वय अमल अल महायरा र और हादेल दाबिबेह छन् । उनीहरु जोर्डनमा कार्यरत छन् ।
दुवैजना जोर्डनका संक्रमित महिला र सिरियाका शरणार्थीहरुको सेवामा सक्रिय छन् । यस्तै सूचीमा पर्ने अर्की महिला चीनकी यान सेंगलियान हुन् । उनी चीनको ग्रामीण क्षेत्रमा रहेर स्वास्थ्योपचारमा संलग्न छिन् ।
उत्कृष्टको सूचीमा पर्ने अर्की महिला कजाकस्तानकी दिना स्माइलोबा क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको सेवामा खटिएकी छिन् भने अर्की रियान्सिया हेनरी क्यारेबियन मुलुक एन्टिगुवा एन्ड बर्मुडामा कार्यरत रहेको युएनओमनले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !