जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १९ गते .
जनकपुरधाम । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न २ नं. प्रदेशका प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले २ नम्बर प्रदेशका ८ वटै जिल्लामा थप सक्रियता बढाएको छ । सरकारले जारी गरेको लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि प्रहरीले सिमा नाका देखि गाउँ देखि सहरसम्म सक्रियता बढाएको हो । गृहको निर्देशनअनुसार पछिल्लो समयमा २ नम्बर प्रदेश प्रहरीले लकडाउनलाई थप कडाइसमेत गरेको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुधामका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धिरज प्रताप सिंहले लकडाउनका बेला व्यक्तिलाई घरबाट बाहिर निस्कन नदिन र पासबिनाका सवारी आवागमनमा रोक लगाउन प्रदेश नम्बर २ का ८ वटै जिल्ला प्रहरी प्रमुखहरु लाई निर्देशन दिएको बताएका छन् । कालोबजारी नियन्त्रण गर्ने, लकडाउन पालना गराउने तथा अनुगमन गर्ने एवं उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिने काममा समेत प्रहरी सक्रिय रहेको प्रहरी नायब महानिरीक्षक सिंहको भनाइ छ ।
प्रहरीले प्रतेक दिन करिब १५ पटक माइकिङ गरेर सचेतनामूलक कार्यक्रम गरेको जानकारी दिँदै उनले अपराध अनुसन्धान, अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका साथै विपद् र विषम परिस्थितिबाट सिर्जित घटना रोक्न योजनाबद्धरूपले काम अघि बढाइएको बताए।
पहिलोपटक घरबाट बाहिर निस्केका व्यक्तिलाई लकडाउनको जानकारी गराएर जहाँबाट आएको हो त्यहीँ फिर्ता पठाउने र पुनः दोहोयाएर आएमा आवश्यक कारवाही गर्ने गरिएको २ नम्बर पदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रहरी नायब महानिरीक्षक सिंह भन्छन्, ‘लकडाउन आदेशलाई अन्य निकायसँग समन्वय गरी नेपाल प्रहरीले पूर्णरूपमा समन्वयात्मक भूमिका र कार्यान्वयन गरिरहेको छ ।’ कोरोनाको सङ्क्रमणलाई रोक्न सामाजिक दूरी कायम गर्नु महत्वपूर्ण हुन्छ । लकडाउन कार्यान्वयनमा खटिने प्रहरीसमेत उच्च जोखिममा छ । यस अवस्थामा सुरक्षित हुनका लागि मास्क, स्यानिटाइजरको प्रयोग गर्न सकिन्छ । आवश्यक औषधि उपचारका लागि नेपाल प्रहरी अस्पतालले विशेष व्यवस्था गरेको समेत २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।



















