जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १७ गते .
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् विदेश विभाग प्रमुख माधव नेपालले कोरोना भाइरस (कोभिड-१९) संक्रमण र नियन्त्रणको विषयमा चिनियाँ विज्ञसँग छलफल गरेका छन्।
बुधबार नेता नेपालले चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओ, प्रोफेसर झोङ नान सान, मेडिकल डाक्टर, वैज्ञानिकसहित विभिन्न विज्ञसँग दुई घण्टा लामो छलफल गरेका हुन्।
भिडियो कन्फरेन्समार्फत् भएको छलफलमा उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोख्रेल, ६ प्रदेशका पार्टी इन्चार्जसहित सहभागी थिए। छलफलमा गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भने सहभागी थिएनन्।
उपप्रधानमन्त्री पोखरेल कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत हुन्। छलफलमा चिनियाँ विज्ञले संक्रमणबाट जोगिन चीनले अपनाएको विधि र रणनीतिबाट जानकारी गराएका थिए।

















