जन प्रभाब-सम्बादाता / २०७७ बैशाख १५ गते .
जनकपुर । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन जारी लकडाउनको मौका छोपी काठ तस्करी मौलाएको छ । २ नम्बर प्रदेशको जिल्ला महोत्तरीका उत्तरी क्षेत्रमा अवस्थित बर्दिवास नगरपालिकाको सामुदायिक वन र राष्ट्रिय वनबाट काठ तस्करी गर्ने क्रम बढेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । लकडाउनको समयमा घाँस दाउरा काट्ने बहानामा हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि डिभिजन वन कार्यालय र प्रहरीले निगरानी बढाएको बताईएको छ ।
काठ तस्करीमा अधिकांश स्थानीयवासीकै सङ्लग्नता रहेको जनाइएको छ । अवैध रुपमा कटान गरिएका त्यस्ता काठहरु जिल्लाको बर्दिवास, विजलपुरा, औरही र धनुषाको लालगढ, बडहरी ,जमुनिबास लायत स्थानिय र छिमेकी जिल्लामा सञ्चालित फर्निचर उद्योगमा बिक्री वितरण गर्ने गरेको डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख हेमन्तप्रसाद साहले बताए ।
उनका अनुसार तस्करी बढेको गुनासो आएपछि वन क्षेत्रमा सुरक्षाकर्मी र वनकर्मीको गस्ति परिचालन बढाइएको छ । यसैगरी बर्दिबास नगरपालिका–५ माइस्थान चेरुबाट रुख काट्दै गरेको समयमा आईतवार एक जनालाई वन स्टिङ्ग अप्रेसन टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिवास नगरपालिका ५ माइस्थान चोरु घर भएका स्थानीय ४५ बर्षीय झोकिलाल लामा रहेका छन् ।
डिभिजन वन कार्यालय गढन्ताका सहायक वन अधिकृत ओमविक्रम खड्काको स्टिङ्ग अप्रेसन टोलीले पानी खोल्सी प्राकृतिक वन क्षेत्रमा सालको रुख कटान गरिरहेको अवस्थामा लामालाई नियन्त्रणमा लिएको हो । उनलाई सशस्त्र वन सुरक्षा शाखा माइस्थानको हिरास्तमा राखी वन ऐन २०७६ अनुसार वनमा हानि नोक्सानी गरेको अभियोगमा मुद्दा चलाउने जानकारी दिनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !