पार्टी फुटाउने षड्यन्त्र- पूर्वमाओवादी
काठमाडौं । सत्तारुढ नेकपाको पूर्वमाओवादी समूहले प्रधानमन्त्री केपी ओलीले पार्टी फुटाउने षड्यन्त्र गरेको निस्कर्ष निकालको छ ।
मुलुक कोरोना भाइरस (कोभिड–१९) विरुद्धको महामारीविरुद्ध लडिरहेका बेला अकस्मात पार्टी विभाजन गर्ने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याइनुलाई आश्चर्यजनक भनेको छ । पूर्वमाओवादीका एक स्थायी समिति सदस्यले ओलीले पार्टी एकता भंग गर्न खोजेको आरोप लगाए । ‘पार्टीमा कुनै छलफल छैन । देश महामारीविरुद्ध एकजुट भएर लड्नपर्ने बेलामा हठात पार्टी विभाजनको कानून ल्याउन खोज्नु षड्यन्त्र हो’, ती नेताले भने, ‘यसले राम्रो सन्देश जाँदैन ।’
सोमबार बसेको मन्त्रिपरिषद बैठकमा ओलीले दल विभाजसम्बन्धी अध्यादेश संशोधनको प्रस्ताल ल्याएका थिए । यसअघि दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत चाहिने व्यवस्था परिवर्तन गर्ने प्रस्ताव ल्याएका थिए । पछिल्लो समय नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच दूरी बढेको थियो ।

















