जन प्रभाब-२०७७ बैशाख ६ गते !
लहान । लहान नगरपालिका –२० की ४० वर्षीया शनिचरीदेवी राम श्रमिक हुन्। निरन्तरको लकडाउनका कारण मजदुरी खोसिएपछि उनको परिवारमा गाँसको समस्या छ। मजदुरीबाट जम्मा गरेको रासन सकिएको छ। खाएर छाक टारेका सर्वसाधारणलाई पखाला : मेयर मुनी साह भन्छन्, ‘आजभोलि मजदुरी गर्नेहरूले पनि राम्रो चामल खान थालेका छन्, त्यसैले लहान नगरपालिकाले दिएको चामल गुणस्तरहीन भनेका हुन्’
लकडाउनले मजदुरी गर्न नपाएपछि हातमुख जोड्न अप्ठ्यारोमा परेका विपन्नलाई राहत वितरण गर्न जिल्ला सिराहाको लहान नगरपालिकाले १ करोड ३० लाख खर्च गरेको छ, तर राहत थाप्ने विपन्नको भागमा कुहिएको चामल परेको छ ।
राहत वितरण गर्न लहान नगरपालिकाले लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) अञ्चल कार्यालयबाट चामल खरिद गरेको थियो । १ हजार ६ सय क्विन्टल चामल किनेर लहान नगरपालिका ल्याएपछि नयाँ प्याकिङ गरेर २०–२० किलोको पोका बनाइएको थियो । ‘यसरी बोरा फोरेर नयाँ प्याकिङ गर्दा कुहिएको चामल प्रस्टै देखिनुपर्ने हो, तर गरिब हुन्, जस्तो पनि खान्छन् भनेर लाइन लगाएर वितरण गरियो,’ स्थानीय नागरिक अगुवाले भने ।
राहत बाँड्ने दिन विपन्न परिवार लाई लहान नगरपालिका कार्यालयमा ओइरिएका थिए । दिनभर लाइन लागेर २० किलो चामलसहितको राहत पाएपछि खुसी हुँदै घर गएकाले पनि खाना खान पाएनन् । किनकि चामल पकाउँदा नै गन्हाएर घरभित्र बस्न नसक्ने भएको थियो । तर, कैयौँ विपन्न दलितले त्यही गन्हाउने भात खाएर छाक टारे, तर रातिदेखि नै पखाला लागेर उनीहरू बिरामी छन् । खासगरी वडा नम्बर – ५, १५ र २४ का का बासिन्दालाई पेट दुख्ने र पखाला लाग्ने समस्या छ ।
छिमेकी बिरामी हुन थालेपछि अन्यले पनि चामल पकाएका छैनन् । लहान नगरपालिका वडा नम्बर – ५ स्थित बलुवाटोलकी लक्ष्मी मेस्तरले चामल गन्हाएर खानै नसकेको बताइन् । ‘खानेकुरा नभएकाले कतिपयले त्यही चामल पनि खाए, तर मैले निल्न नसकेपछि भातै फालिदिएँ,’ मेस्तरले भनिन् ।
लहान नगरपालिका वडा नम्बर – ५ कै मजदुर कृष्ण कन्हैयाले पनि एकपटक चामल पकाएका थिए । गन्हाएर खान नसकेपछि फेरि पकाउन सकेका छैनन् । लहान नगरपालिका– २४ खपानीटोलका लगनलाल पासवानले दुर्गन्धित चामल डल्ला परेको बताए । ‘चामल डल्लो परिसकेको थियो, तैपनि भोक टार्न सकिन्छ कि भनेको, निल्नै सकिएन,’ उनले भने ।
निमुखा जनताले चामल गन्हाएर खान सकिएन भनेर गुनासो गर्दा पनि लहान नगरपालिका का प्रमुख मुनी साहले भने वितरित चामलको गुणस्तरमा कुनै समस्या नभएको दाबी गरे । उनले भने, ‘आजभोलि मजदुरी गर्नेहरूले पनि राम्रो चामल खान थालेका छन्, त्यसैले नगरपालिकाले दिएको चामल गुणस्तरहीन भयो भनेका हुन् ।’ साहले त्यसो भने पनि यो चामल उनले आफ्नो निजी स्रोतबाट दिएका होइनन्, राज्यको ढुकुटी खर्च गरेर जनताका लागि वितरण गरेका हुन् । तर, उनले ती विपन्नले पनि नगरपालिकाविरुद्ध षड्यन्त्र गरेको आरोप लगाए । उनले भने, ‘संकटको समयमा नगरपालिकाले राहत बाँड्यो, तर राजनीतिक षड्यन्त्र गर्नेहरूले हामीविरुद्ध प्रचार गरेका हुन् ।’
लहान नगरपालिकाले ‘संक्रामक रोग रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोष कार्यविधि– २०७६’ अनुसार चामल खरिद गरेको हो । नगरका प्रमुख प्रशासकीय अधिकृत खेमनन्द भुसालले कार्यविधिमा उल्लेख भएअनुसार नौ सदस्यीय समितिको निर्णयअनुसार चामल खरिद गरिएको जानकारी दिए ।
नगरले चार हजार पाँच सय रुपैयाँ प्रतिक्विन्टल पर्ने सोना मन्सुली चामल खरिद गर्न १० प्रतिशत छुटमा ६६ लाख ७४ हजार दुई सय ५० रुपैयाँ खर्चिएको छ । एक करोड ३० लाखमध्ये अन्य रकम अन्य सामग्रीमा खर्च गरिएको छ ।
राहत प्याकेजअन्तर्गत प्रतिघरधुरी २० किलो चामल, एक किलो दाल, एक किलो नुन, एक लिटर खानेतेल, चार किलो आलु, नुहाउने र लुगा धुने गरी दुई थान साबुन र नगद दुई सय रुपैयाँ दिइएको छ । प्रमुख प्रशासकीय अधिकृत भन्छन्, ‘प्रक्रिया पुर्याएर किनेको चामल हो, गुणस्तरहीन भए फिर्ता गरेर खानयोग्य चामल दिन्छौँ ।’
२६ चैतबाट राहत वितरण सुरु गरेको लहान नगरपालिकाले २४ मध्ये ४ र १९ बाहेकका अन्य वडामा मंगलबारसम्म राहत बाँडेको छ । ‘दुई वटाबाहेकका वडाका सात हजार दुई सय ९६ घरधुरीलाई राहत बाँडिएको छ,’ समितिका एक सदस्यले भने, ‘बाँकी दुईवटा वडाको समेत जोड्दा आठ हजार दुई सय ५० घरधुरीलाई राहत पुग्छ ।’ राहतका लागि नगरपालिकाले छुट्याएको एक करोडले नपुगेपछि पुनः ३० लाख थप गरिएको छ ।
लहानस्थित खाद्यका अञ्चल कार्यालय प्रमुख गंगाप्रसाद साहले गत वर्षको फागुन र यो वर्ष खरिद गरेको धानको चामल गुणस्तर जाँचेरै बिक्री गरिएको दाबी गरे । ‘गोदाममा गत वर्षको करिब दुई हजार क्विन्टल चामल थियो,’ उनले भने, ‘गोदाममा चाङ लगाएर राख्दा पुरानो स्टकको बोरामा ढुसी आएको हुन सक्छ । तैपनि खान अयोग्य नै त नहुनुपर्ने हो ।’ नगरपालिकाले औपचारिक रूपमा अहिलेसम्म गुनासो पनि नगरेको उनले बताए । लहानमा राहतको आलु पनि कुहिएको ;
राहतका आलु कुहिएर वडा कार्यालय दुर्गन्धित
वडा कार्यालयमा अझै बाँड्न बाँकी ३९ पोका राहत सामग्री छन् । राहत प्याकेजमा २० किलो चामलसँगै एक किलो दाल, एक किलो नुन, चार किलो आलु, एक लिटर खानेतेल, नुहाउने र लुगा धुने गरी दुई थान साबुन र नगद दुई सय नगद थियो । तर, पोकाभित्रै आलु कुहिएर पानी बग्न थालेको छ । जसले वडा कार्यालय नै दुर्गन्धित बनाएको मोतीपुरकी मञ्जु पासवानले बताइन् ।
