प्रकाशित मिति -२०७६ चैत २९ गते सनिवार . जनकपुरधाम । बटेश्वर गाउँपालिका वडा नं. २ भूचक्रपुरमा पनि केहि गरिब एवं विपन्न परिवार राहतबाट वञ्चि भएका छन् । शनिबार वडा नं. २ का विपन्न एवं ज्याला मजदुरी गरी जिवीकोपार्जन गर्ने परिवारहरुलाई राहत वितरण गरिएको छ । वितरणको क्रममा केहि बिपन्न परिवारहरु पनि राहतबाट वञ्चित भएका हुन् ।
वडा नं. २ को पाटोटोल, रामौली टोल, कहचरीटोल, कार्तिककुमार लगायतको टोलका केहि विपन्न परिवारहरु गाउँपालिकाबाट वितरण भएको राहतबाट बञ्चित भएका छन् । पाटोटोलमा राहतबाट बञ्चित भएका स्थानीयहरुले जनप्रतिनिधि तथा राजनीतिक संयन्त्रलाई विरोध गरेका थिए ।
केहि हुनेखानेले पनि राहत पाएको र कतिपय जनमजदुरी गरेर खाने र सुकुम्बासी घरपरिवारहरुलाई समेत राहत उपलब्ध नगराएको स्थानीय प्रदीप महतोले गुनासो पोखे ।
‘छुटेका कतिको नाम भन्नु ? पाटोटोलमा मात्रै एकदर्जनभन्दा बढी विपन्न घरपरिवार राहत पाएनन् । कहिले नामावली संकलन भयो भन्ने कुरा समेत हामीलाई थाहा छैन । सिधै आएर बाँड्न थाल्यो । केहि हुने खानेलाई पनि बाँडेका छन्’ उनले आक्रोश पोख्दै भने ।
स्थानीय रिना देवीले आफु जनमजदुरी गरेर खाँदा समेत राहत नदिएको गुनसो गरिन् । उनले प्रश्न गर्दै भनिन् ‘जसलाई घरघडेरी छैन के त्यसलाई राहत दिदैँनन् ? खै हामीलाई राहत ?’
वडा नं. २ का वडाध्यक्ष गंगाराम कुमरले स्थानीय स्वयम सेविकाबाट नामावली संकलन गरिएकाले केहि पाउनै पर्ने विपन्न परिवारहरु छुटेको स्वीकारे । ‘गाउँपालिकाले स्थानीय स्वयम सेविकाबाट नामावली संकलन गर्यो । अहिले केहि पाउनै पर्ने घरपरिवार छुटेका छन् । तर कुनै हुनेखाने परिवारलाई हामी राहत उपलब्ध गराएका छैनौ’, वडाध्यक्ष कुमरले भने ‘राहत पाउन छुटेका विपन्न परिवारको नामावली संकलन गर्दैछौं । हामी उहाँहरुको पनि घर–घरमा राहत पुर्याउछौं।’ वडा नं. २ मा ३ सय ८५ विपन्न परिवारलाई राहत वितरण गरिएको छ ।
यस्तै वडा नं. ३ मा पनि केहि विपन्न परिवारहरु राहतबाट बञ्चित भएका छन् । स्वयमसेविकाबाट नै नाम संकलन गरिएकाले छुटेकाले तिनीहरुको नामावली संकलन गरिएको वडा नं. ३ का वडाध्यक्ष हिरालाल महतोले प्रतिक्रिया दिए । नामावलीमा नाम नहुँदा १५।२० विपन्न परिवार राहत पाउनबाट बञ्चित भएकाले तिनीहरुको नामावली संकलन गरिएको र उनीहरुलाई घरघरमा राहत पुर्याउने वडाध्यक्ष महतोको भनाइ छ ।
यसअघि शुक्रबार बटेश्वर गाउँपालिका वडा नं. १ लक्ष्मीनिबासमा राहत वितरणको क्रममा केहि हुनेखानेलाई दिएको र विपन्नलाई नदिएको भन्दै स्थानीयहरुले अवरोध गरेपछि विवाद भएको थियो । राहतमा राजनीति गरी जनप्रतिनिधिले आफ्ना आसेपासे हुनेखानी र धनीलाई समेत राहत वितरण गरेको स्थानीयहरुले लखेट्दै ट्याक्टर घरेकेका थिए ।
यता गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले स्वास्थ्य स्वयमसेविका मार्फत जनप्रतिनिधि र स्थानीय राजनीतिक दलको सल्लाहमा नामावली संकलन गरिएकाले केहि विपन्न परिवारहरु छुटेको स्वीकार गरे । केहि हुनेखानेलाई समेत राहत विरतण गरिएको विषयमा उनले भने ‘९६ प्रतिशतभन्दा बढीले मापदण्ड अनुसार विपन्न परिवारलाई नै राहत पाएका छन् । एकआध जनाले स्थानीय जनप्रतिनिध र राजनीतिक दलको स्वार्थमा यताउता भएको हुन सक्छ । यसलाई जति गरे नि रोक्न सकिन्न ।’ गाउँपालिका अध्यक्ष राउतले छुटेका विपन्न परिवारको घर घरमा गएर राहत उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
कोरोना भाइरसको महामारीबाट बच्न सरकारले गरेको लकडाउनमा विपन्न एवं ज्यालामजदुरी गरी खाने विपन्न परिवारलाई राहत दिन प्रदेश सरकारले गाउँपालिकालाई दिएको १० लाख र गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट समेत मिलाएर राहत वितरण गरिरहेको छ । राहत वितरणमा चारजनासम्मको परिवारलाई १० किलो र सोभन्दा बढी सदस्य भएको परिवारलाई १५ किलो चामल वितरण गरिरहेको छ । चामलसंगै एक किलो दाल, एक किलो नुन, आधकिलो खाने तेल, साबुन बाँडिरहेको छ ।

















