प्रकाशित मिति – २०७६ चैत २४ सोमबार
काठमाडौं । कञ्चनपुरमा लकडाउनको मौकाछोपी काठ तस्करको नजर वन र वन्यजन्तुमा गएको देखिएकाे छ। लकडाउनको मौका छापेर धमाधम रुख काट्ने र ओसार्ने काममा सक्रिय भएका छन् ।
लकडाउनको दाेस्रोदिनदेखि कञ्चनपुरमा कतै रुख काट्ने, कतै काटेर तस्करी गर्ने र लुकाउने काम भइरहेको पछिल्ला घटनाक्रमले देखाएकाे छ । सुरक्षा निकायले काठ काटेकाे, ओसारेकाे र लुकाएकाे अवस्थामा काठ नियन्त्रणमा लिएकाे छ । १० चैत्रमा पुनर्वास नगरका सुरेश तामाङ र विजय तामाङ लालझाडी वन क्षेत्रबाट काठ तस्करी गरेकाे गरिरहेको अभियाेगमा पक्राउ परे ।
मोटरसाइकलसहित दुवै जनालाई इलाका वन कार्यालय लालझाडीको टिमले पक्राउ गरेको हो । १३ चैत्रमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यावर्ती क्षेत्र बेदकोट नगरपालिका १० चम्फापुर क्षेत्रबाट निकुञ्ज प्रशासन र नेपाली सेनाको टोलीले चार जनालाई रुख काटिरहेकै अवस्थामा पक्राउ गर्यो ।
पक्राउ पर्नेमा कांग्रेस बेदकोट नगरका सचिव एव नेपाल तरुण दल क्षेत्र २ का सभापति चन्द्रकान्त भट्ट, हर्क नेपाली, करन पन्त र बहादुर डगौरा थिए । सालको रुख ढालेर गोलिया बनाइरहेको अवस्थामा उनीहरुको साथबाट आरासहित बरामद भएकाे थियाे ।
१८ चैत्रमा शुक्लाफाँटा नगरपालिका ८ भम्केधारा क्षेत्रबाट बयलगाडामा चार थान सालका गोलिया तस्करी गरिरहेको अवस्थामा स्थानीय तेज बहादुर ऐर पक्राउ परे । उनलाई शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिंह महरा नेतृत्वको अपराध नियन्त्रण विषेश कार्यदलले नियन्त्रमा लियो । थप कारबाहीका लागि प्रकृया अघि बढाइएको छ ।
२१ चैत्रमा जनजागरण सामुदायिक वन पुनर्वासबाट चोरीगरी ल्याएका चार थान सालका गोलीया स्थानीय लाल बहादुर थापाको घरमा फेला पर्यो । सामुदायिक वनका पदाधिकारी र वनका कर्मचारीको संयुक्त टोलीले थापाको घरबाट बरामद गरेकाे गाेलीया बरामद गरे पनि थापा भने फरार भए ।
२२ चैतमा शुक्लाफाँटा नगरपालिका १२ जनजागरण सामुदायिक वनबाट पाँच थान सालका गोलिया जयललाल ढुङ्गेल र तेज भण्डारीको घरबाट सामुदायिक वन र वन कार्यालयकाे टाेलीले बरामद गर्यो । यसरी लकडाउनको मौकाछोपी कञ्चनपुरमा वन फडानी बढेकाे देखिन्छ ।
तपाईको प्रतिक्रिया !
